इस्लामावाद- पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का समर्थकहरूले लङ मार्च सुरु गरेका छन्।
खैबर पख्तुनख्वाको लक्की मारवतबाट आइतबार सुरु भएको मार्च इस्लामाबादतर्फ अघि बढिरहेको छ। करिब २७५ किलोमिटर लामो यात्रामा हजारौँ समर्थक सहभागी छन्।
लक्की मारवतबाट करिब ३ किलोमिटर अघि सुरक्षाकर्मी र इमरान समर्थकबीच झडप भएको छ। दुवै पक्षबीच ढुंगा हानाहान भएपछि प्रहरीले लाठीचार्ज गरेको छ। करिब एक घण्टापछि मार्च अघि बढेको छ।
मार्चलाई इस्लामावाद प्रवेश गर्न नदिन राजधानीतर्फ जाने सडकमा कन्टेनर राखेर बाटो बन्द गरिएको छ। संसद् भवन आसपासका क्षेत्र तथा प्रमुख राजमार्गमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ।
यसैबीच, हिंसात्मक झडपको सम्भावना बढिरहेका बेला पीटीआई सांसद शहजाद शहबाज र पाकिस्तानी सेनाका प्रमुख आसिम मुनीरबीच आइतबार साँझ भेटवार्ता भएको छ। भेटवार्ताका विषयमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
करिब २ हजार कार्यकर्ता पक्राउ
मार्च सुरु हुनुअघि शनिबार राति पञ्जाबमा पीटीआई कार्यकर्तामाथि व्यापक धरपकड गरिएको पार्टीले जनाएको छ। पीटीआईका अनुसार करिब २ हजार कार्यकर्ता पक्राउ परेका छन्।
पीटीआई समर्थकहरूले इमरान खानको रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
वार्ता निष्कर्षविहीन
इमरानको रिहाइ र आन्दोलनबारे पाकिस्तानी सरकार तथा पीटीआईबीच शुक्रबार र शनिबार दुई चरणमा वार्ता भएको थियो। तर दुवै पक्षबीच सहमति हुन सकेन।
पीटीआईले इमरानसँग तत्काल भेटघाटको व्यवस्था गर्नुपर्ने तथा उनलाई निजी चिकित्सकले उपचार गर्न सक्ने अस्पतालमा स्थानान्तरण गर्नुपर्ने माग राखेको थियो। सरकारले भने प्रदर्शन स्थगित गर्नुपर्ने सर्त अघि सारेको थियो।
पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले वार्ता असफल हुनुको एउटा कारण खैबर पख्तुनख्वा सरकारले आतंकवादविरुद्धको लडाइँमा केन्द्र सरकारलाई सहयोग गर्ने सुनिश्चितता नदिनु रहेको बताएका छन्।
इमरान २०२३ देखि जेलमा
७३ वर्षीय इमरान खान सन् २०२३ देखि रावलपिन्डीस्थित अदियाला जेलमा छन्। उनीविरुद्ध १०० भन्दा बढी मुद्दा रहेको र विभिन्न मुद्दामा सजाय सुनाइएको छ।
अल कादिर ट्रस्ट मुद्दामा १४ वर्ष, गोप्य दस्तावेज चुहावटसम्बन्धी मुद्दामा १० वर्ष तथा तोशाखाना मुद्दामा तीन वर्षको सजाय सुनाइएको विवरण सार्वजनिक भएको छ। तोशाखाना मुद्दामा उनकी पत्नी बुशरा पनि जेलमा छिन्।
इमरानकी बहिनीहरू अलीमा, उज्मा र नुरिनलाई पनि सेप्टेम्बरमा हिरासतमा लिइएको बताइएको छ।
सरकारको तयारी
खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफरीदीले मार्च जारी रहने घोषणा गरेका छन्। ट्यांक, डेरा इस्माइल खान, दक्षिण तथा उत्तर वजिरिस्तान, बन्नु र लक्की मारवतका समर्थकहरू मार्चमा सहभागी भएका छन्।
मार्च करक, कोहाट र पेशावर हुँदै इस्लामाबादतर्फ अघि बढ्ने योजना छ। अक्टोबर ६ मा कोहाट, हाङ्गु, कुर्रम र ओरकजईका समर्थक तथा अक्टोबर ७ मा पेशावर र ८ अक्टोबरमा चरसद्दा र मोहम्मन्दका समर्थक सहभागी हुने बताइएको छ।
प्रधानमन्त्री शहबाज शरीफका राजनीतिक सल्लाहकार राना सनाउल्लाहले प्रदर्शनकारीलाई इस्लामाबाद प्रवेश गर्न नदिइने बताएका छन्। केन्द्र सरकारले राजधानी प्रवेश गर्ने सडकमा थप सुरक्षाकर्मी परिचालन गरेको छ।
मार्चमा थप समर्थक जोडिँदै गएमा सरकारमाथि राजनीतिक दबाब बढ्न सक्ने विश्लेषण गरिएको छ। यद्यपि, प्रदर्शनको आकार, सरकारको सुरक्षा प्रतिक्रिया र सेना नेतृत्वको भूमिकाले आगामी घटनाक्रम निर्धारण गर्नेछ।




प्रतिक्रिया