काठमाण्डु – पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका रेलका एक सय बढी यात्रुहरुको उद्धार गरिएको छ ।
बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार बलुचिस्तानको बोलान पासमा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेल अपहरण गरेको थियो ।
बीएलएले रेलको टङयाकमा विस्फोट गरी सुरुङमा रोकेर २१४ यात्रुलाई बन्धक बनाएको दाबी गरेको छ । उनीहरूले ३० सैनिकको हत्या गरेको र आफ्ना लडाकुहरूको रिहाइका लागि सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको बताएका छन् । सैन्य कारबाही भए सबै बन्धक मार्ने धम्की पनि उनीहरूले दिएका छन् ।
पाकिस्तानी सुरक्षा बलले जारी भिडन्तमा १६ विद्रोही मारिएको बताएका छन् । एआरवाई न्यूजका अनुसार सेनाले १०४ बन्धकलाई उद्धार गरेको छ । जसमा ५८ पुरुष, ३१ महिला र १५ बालबालिका छन् ।
सुरक्षा स्रोतले आतंककारीहरूले महिला र बालबालिकालाई मानव ढाल बनाएकोले उद्धार जटिल भएको बताएका छन् । आक्रमणमा रेलका चालक गम्भीर घाइते भएका छन् । घायते अन्य १७ यात्रुलाई अस्पताल भर्ना गरिएको छ ।
पाँच सय यात्रु सवार रेल नियन्त्रणमा लिएको बीएलएले गैरसैनिक यात्रु रिहा गरेको दाबी गरे पनि यो पुष्टि भएको छैन । पहाडी भूभाग र बन्धकहरूको सुरक्षालाई ध्यानमा राख्दै अभियान जारी राखेको पाकिस्तानी सेनाले जनाएको छ ।
बलुच लिबरेशन आर्मी (बीएलए) बलुचिस्तानमा सक्रिय एक सैन्य समूह हो, जसले स्वतन्त्र बलुचिस्तानको माग राख्दै आएको छ । उक्त समूहले पाकिस्तान सरकारमाथि प्राकृतिक स्रोतको शोषण र स्थानीय बासिन्दामाथि अन्याय गरेको आरोप लगाउँदै आएको छ ।
पाकिस्तानले सन् २००६ मा बीएलएलाई आतंकवादी संगठन घोषित गरेको थियो ।
प्रतिक्रिया