भारत -पाकिस्तानबीच तनाव चलिरहेका बेला साउदी युवराज एक्कासी पाकिस्तानमा


एजेन्सी – भारतले जम्मु-कश्मिरमा सुरक्षा फौजमाथिको घातक हमलामा पाकिस्तानलाई दोष लगाएपछि भारत र पाकिस्तानबीच तनाव चुलिरहेका बेला साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान दुई दिने भ्रमणका लागी पाकिस्तानमा छन् ।

जेएफ-१७ थन्डर लडाकु विमानले युवराजको आइतवार पाकिस्तानी हवाइक्षेत्रमा प्रवेश गरेसँगै अहिले गस्ती गरिरहेको छ । भ्रमणको क्रममा युवराज मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता गरेका छन् । यसमा ग्वादर नजिक एक तेल रिफाइनरीमा ८ अर्ब डलर लगानी गर्ने कुरा पनि सामेल छ । क्राउन प्रिन्स सलमानले पाकिस्तानको भविष्य उज्यालो रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘पाकिस्तानले गएको वर्ष पाँच प्रतिशतको आर्थिक प्रगति ग¥यो र अहिलेको नेतृत्वमा पाकिस्तानको भविष्य निकै सुनौलो छ ।’
पाकिस्तानको सम्भावनालाई देखेर नै साउदी अरेबियाले लगानी गरेको र यो पाकिस्तानमा साउदी लगानीको सुरुवात मात्रै रहेको उनले बताएका छन् ।

साउदी क्राउन प्रिन्सलाई स्वागत गर्नका लागि पाकिस्तानका प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद विमानस्थल पुगेका थिए । क्राउन प्रिन्स आइतबार बेलुका पाकिस्तान पुगेका हुन् । इमरान खानले क्राउन प्रिन्सलाई आफ्नो कारमा बसाएर प्रधानमन्त्री निवास लिएर गएका थिए । इमरान आफैले कार चलाएका थिए । क्राउन प्रिन्सको सम्मानमा प्रधानमन्त्री निवासमा विशेष डिनरको आयोजना पनि गरिएको थियो ।

यसक्रममा इमरान खानले साउदी अरेबियामा काम गर्ने पाकिस्तानी श्रमिकको समस्याका बारेमा चर्चा गरेका थिए । अहिले २५ लाख पाकिस्तानी नागरिक साउदी अरेबियामा कार्यरत छन् । यस्तै हजको क्रममा पाकिस्तानीले भोग्नु परेका समस्याका बारेमा पनि इमरानले चर्चा गरेको जनाइएको छ । क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबिएस) ले पाकिस्तानी श्रमिकका समस्या समाधान गर्ने वचन दिएका छन् । आइतबार अबेर बेलुका पुगेका एमबिएसको शानदार स्वागत भएको थियो ।

भारतसँगको सम्बन्धमा थप दरार आइरहेका बेला पाकिस्तानको सम्बन्ध साउदी अरेबियासँग बलियो भएको देखिएको छ । भारत प्रशासित जम्मू–कश्मीरको पलुवा जिल्लामा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएपछि भारत–पाकिस्तान सम्बन्धमा दरार आएको हो । यहि बिचमा पाकिस्तान र साउदी अरेबियाबिचको सम्बन्धमा थप गाढापन देखिएको हो । दुई दिने भ्रमणमा साउदी युवराज प्रधानमन्त्रीको निवासमा बस्नेछन्। यसरी प्रधानमन्त्री निवासमै यसअघि कुनै पनि अन्य देशका अतिथिलाई राखिएको थिएन।

प्रतिक्रिया दिनुहोस
Advertisement