पाकिस्तानी पूर्वप्रधानमन्त्री शाहिद अब्बासी भ्रष्टाचार आरोपमा पक्राउ


इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासी पक्राउ परेका छन् । राष्ट्रिय जवाबदेही ब्यूरो (एनएबी) ले ‘लिक्विफाइड नेचुरल ग्यास’ (एलएनजी) को आयात ठेक्का मामिलामा अब्बासीलाई पक्राउ गरेको हो । एनएबीले ठेक्कापट्टामा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

‘डान न्यूज’का अनुसार मुस्लिम लीग (नवाज) का वरिष्ठ उपाध्यक्ष अब्बासीलाई लाहौर टोल प्लाजा नजिकैबाट पक्राउ गरिएको हो । मुस्लिम लीगले उनको गिरफ्तारीको पुष्टि गरेको छ ।

एनएबीले एलएनजी टर्मिनलको ठेक्का मामिलाका बारेमा बिहीबार छलफलका लागि उपस्थित हुन अब्बासीलाई निर्देशन दिएको थियो । तर, निजी व्यस्तताका कारण अब्बासी उपस्थित नभएपछि उनलाई गिरफ्तार गरिएको बताइएको छ ।

भ्रष्टाचार गरेको प्रमणित भएपछि नवाज शरीफले प्रधानमन्त्री पद त्याग्नु परेको थियो । त्यसपछि अब्बासीले शासन सत्ता सम्हालेका थिए । उनी १ अगस्ट २०१७ देखि ३१ मे २०१८ सम्म प्रधानमन्त्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement