काठमाण्डु– भिजिट भिसामा श्रीलंका जाने भन्दै कागजात मिलाएर कतार उड्न खोजेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
एअर अरेबियाको उडानबाट दुबई हुँदै श्रीलंका जाने तयारी गरेको देखिएको र उनीहरूको उद्देश्य वैदेशिक रोजगारीका लागि कतार पुग्नु रहेको खुलेको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–२ का १९ वर्षीय सन्जिव भुषाल, रौतहटको कटहरिया नगरपालिका–३ का १९ वर्षीय शेख तबरेज र स्याङ्जाको भीरकोट नगरपालिका–४ का २७ वर्षीय समित रेग्मी छन् ।
प्रहरीले उनीहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
श्रीलंका जान लागेको भनेका उनीहरूको साथबाट भेटिएका कागजातबाट श्रीलंका हुँदै कतार जान खोजेको खुलेको हो ।
वैदेशिक रोजगारीका लागि आवश्यक श्रम स्वीकृतिसँग सम्बन्धित कागजातसमेत उनीहरूको साथबाट फेला परेको प्रहरीले जनाएको छ। ती कागजात जाँच गर्दा नक्कली रहेको पाइएपछि प्रहरीले उनीहरूमाथि लिखतसम्बन्धी कसुरमा समेत थप अनुसन्धान अघि बढाएको छ ।
उनीहरूले नक्कली श्रम स्वीकृति कहाँबाट बनाएका थिए र त्यसमा संलग्नता अरु कि थिए भन्नेबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया