भारतविरुद्ध प्रद्धर्शन गर्ने क्रममा विप्लव समूहका १२ जना माइतीघरबाट पक्राउ


काठमाडौं – भारतले गत साता सार्वजनिक गरेको नक्साविरुद्ध माइतीघरमा प्रद्धर्शनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा निकट विद्यार्थी संगठनका १२ जना  पक्राउ परेका छन् ।

आइतवार माइतीघर मण्डलामा भेला भएर विद्यार्थीहरूले भारतले गरेको सीमा अतिक्रमणविरुद्ध ‘गो ब्याक इण्डिया’को चर्को नारा लगाउने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नेकपा महासचिव विप्लवका छोरा प्रकाश चन्द पनि विरोध कार्यक्रममा सहभागी हुने बताइएपनि उनी सहभागी नहुँदै प्रहरीले प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको छ । माइतीघरमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका उनीहरुको नाम भने खुलाइएको छैन ।

भारतले आफ्नो नक्सामा नेपाली भू–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । ‘विप्लव’ नेकपा निकट विद्यार्थी संगठनले माईतीघर बाहेक देशभरका अन्य स्थानमा पनि प्रद्धर्शन गरिरहेका छन् । गत फागुन अन्तिम साता विप्लवको पार्टाीमाथि प्रतिबन्ध लागेपछि विप्लव समूहले पहिलोपटक काठमाडौंमा सार्वजनिक प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement