२२ जनाबाट ७ करोड ठगेर फरार रहेका चन्दन गठ्ठाघरबाट पक्राउ


काठमाण्डु – करोडौं रकम ठगेर फरार रहेका एक जना भक्तपुरबाट पक्राउ परेका छन् ।

झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जनाको करोडौं रकम ठगेर फरार झापा दमक नगरपालिका–१० का २९ वर्षीय मनीष अग्रवाल भनिने चन्दन जिन्दललाई प्रहरीले भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका अनुसार जिन्दलले २२ जनाबाट सात करोड ८१ लाख ४२ हजार रुपैयाँबराबर ठगी तथा बैंकिङ कसुर गरेको खुलेको छ ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

जिन्दललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement