खुकुरी प्रहार गरी लुटपाट गर्ने गिरोह पक्राउ


काठमाण्डु – खुकुरी प्रहार गरी लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरलाई खुकुरी प्रहार गरी लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा असनका रोहन नेपाली शाही, थानकोटका अभय तुलाधार, जुम्लाका हरि शर्मा, चक्रपथका अमित तुलाधर र नरदेवीका रोहित शाही रहेका छन् ।

महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनीहरुले १५ पुसमा गजमेरले बजारबाट संकलन गरेर बोकेको एक लाख ६६ हजार ९ सय १५ रुपैयाँ चाबहिलमा जबरजस्ती लुटपाट गरेको थियो ।

घटनाबारे अनुसन्धान गर्ने क्रममा लुटपाट गरेर लगिएको नगद, सहकारीका कागज पत्र, झोला र पीडितलाई प्रहार गरिएको खुकुरीसहित चोरीका ४ स्कुटर र एउटा मोटरसाइकलसमेत बरामद गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement