पाल्पाका चार स्थानिय तहमा थपिँदै प्रहरी चौकी


पाल्पा – जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन् । रैनादेवी छहरा गाउँपालिका–४, छहरा, रम्भा गाउँपालिका–३, पीपलडाँडा, बगनासकाली गाउँपालिका–१, गाप्तुङ र माथागढी गाउँपालिका–४, सातमूलेमा प्रहरीचौकी स्थापना हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । प्रहरीचौकीका लागि जनशक्ति पूरा भएपछि आगामी साउन महिनाभित्र चौकी थपिने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले नयाँ प्रत्येक प्रहरीचौकीमा १५–१५ जनाको दरबन्दी रहेको बताए । प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षकले नेतृत्व गर्ने छन् । नेपाल सरकारले गत वर्ष असोज ७ गते पाल्पामा प्रहरीचौकीका लागि प्रहरी दरबन्दी स्वीकृत गरिएको थियो ।

छहरास्थित पुरानो स्वास्थ्यचौकीको भवनमा प्रहरीचौकीबाट सेवा दिइने छ । पुरानो स्वास्थ्यचौकीलाई रङरोगन गरी प्रहरीचौकी स्थापना गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । रम्भामा प्रहरीचौकीका लागि भवनको खोजी भइरहको छ ।

गाउँपालिका अध्यक्ष विष्णु भण्डारीका अनुसार पीपलडाँडा क्षेत्रमा प्रहरीचौकीका लागि सात दिनभित्र भवनको टुङ्गो लगाउने गरी काम अघि बढेको छ । बगनासकालीमा चिलादीको पुरानो विद्यालयको भवनबाट प्रहरीचौकीको काम अघि बढ्ने छ । विद्यालय गाभिएपछि खाली रहेको विद्यालय भवनमा नै चौकी स्थापना गर्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए ।

माथागढीका प्रशासकीय अधिकृत राजु नेपालले प्रहरीचौकीका लागि भवन र जग्गाको खोजी जारी रहेको बताउनुभयो । गाउँपालिकाको केन्द्रलाई लक्ष्य गरी प्रहरीचौकी स्थापना हुने भएको छ । जिल्लामा प्रहरीचौकी थपिए पनि हालका चौकीमा प्रहरीको दरबन्दी पूरा हुने सकेको छैन । प्रहरीचौकीको नेतृत्वसमेत तल्ला दर्जाका प्रहरीले सम्हालेका छन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, रामपुर इलाका प्रहरीचौकी, पूर्वखोला इलाका प्रहरीचौकी र मुझुङ इलाका प्रहरीचौकी कार्यालयमा सेवाको बढी चाप देखिन्छ । प्रहरी प्रशासनमा दैनिक मुद्दाका चाप बढ्दो छ । दैनिक काम व्यवस्थापनका गर्न जनशक्तिको अभाव हुँदा प्रहरीलाई समस्या थपिएको छ ।

जिल्लाका अधिकांश प्रहरीचौकीमा सुविधासम्पन्न यातायातका साधनको अभाव छ । शान्ति सुरक्षा कार्यक्रम गर्न सुविधासम्पन्न यातायातका साधनका अभावमा पैदल नै पुग्नुपर्ने हुँदा थप समस्या हुने प्रहरीको भनाइ छ ।

जिल्लाका केलादी, रुप्स र जप्कादी प्रहरीचौकीले पनि सेवा प्रवाह गर्दै आएका छन् । सर्देवा प्रहरीचौकी र बल्ढेगढी प्रहरीचौकी तथा हार्थोक, अर्गली, बर्तुङ, प्रभाष, दोभान, आर्यभञ्याङ, सराई माथागढी, ताहु, राम्दी, हुँगी, रानीमहल र भुसालडाँडा प्रहरीे कार्यालयबाट सेवा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले अस्थायी प्रहरीचौकीबाट नागरिकलाई सेवा प्रदान गरेको छ । बसपार्क, भैरवमन्दिर र रिडीबाट जनताले पाल्पा प्रहरीको सेवा पाउँछन् । जिल्लाका सबै प्रहरीचौकीबाट समुदायसँग प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिँदै आएको थियो । प्रहरीलाई लागुऔषध र लैङ्गिक हिंसा विरोधी तथा अपराध अनुसन्धानका नियमित कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता छ । प्रहरी जनशक्तिको अभावमा समेत प्रहरीले नियमित रुपमा सेवा प्रदान गरे पनि कोभिड –१९ का कारण फैलिएको महामारीले ती कार्यक्रम प्रभावित भएका छन् ।

प्रहरीले अधिकार प्राप्त अधिकारीले कानूनबमोजिम दिएको आदेश र जारी गरेको वारेन्ट तदारुखताका साथ पालन तथा तामेल गर्नु, शान्तिसुरक्षालाई असर पार्ने खालको खबर सङ्कलन गर्नु र प्रहरीको माथिलो अधिकारीलाई जानकारी गराउनु जिम्मेवारी प्रहरीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement