सरकारमा बहुमत पुर्‍याउन विवादित मान्छेसँग गठबन्धन गर्नुपर्‍यो : उपाध्यक्ष भुसाल


काठमाण्डु – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्ता गठबन्धनमा केही विवादित मान्छे पनि रहेको टिप्पणी गरेकी छन् ।

आज शुक्रबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्ता गठबन्धन शुद्ध नभएको बताएकी छन् ।

गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै उनले बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् ।

विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको उनले बताइन् । उनले सत्ता गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा तरङ्गित गरिएको भन्दै गठबन्धन यहीँका दल र नेताहरूले बनाएका उल्लेख गरेकी छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै उनले त्यो पूरा नभएमा यही गठबन्धनमा बसिरहने कुरा नहुने बताएकी छन् ।

उनले भनिन्, ‘त्यहाँभित्र हामीलाई असहज भयो । यसरी काम गर्नुभन्दा बरु छोड्नु पो ठीक हुन्छ कि ? काम गर्न नसक्ने अनि पदमा मात्रै बस्ने जस्तो कुरा भनेर प्रधानमन्त्री विकल्प खोज्दै हुनुहुन्थ्यो । संयोगले एउटा नयाँ सहमति बन्यो र नयाँ गठबन्धन बन्यो । बाहिर सुशासन भनेको छ, आफ्नै मन्त्रीहरू झन्डा बोकेर अख्तियार जान्छन् । हरेक ठाउँमा विभिन्न सुशासनविरोधी गतिविधि भएको कुरा मिडियामा पनि आउँछ । तथ्य बुझ्दा हुन्छ पनि । छुन, चलाउन नसक्ने । काम गरेर अगाडि बढ्न त समग्र मन्त्रालय प्रधानमन्त्रीको मातहतमा हुन्छ । महत्त्वपूर्ण मन्त्रालयले यसरी जाउँ, उसो गरी जाउँ भन्दा मान्दै मान्दैन । खुट्टा अगाडि लैजान नसकेजस्तो । जनतालाई अलि बढी राहत हुने गरी काम गरौं, त्यही ढंगले बजेट निर्माण गरौं, आर्थिक स्रोत जुटाउँ र कार्यक्रमहरू थप्दै जाउँ आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔं भन्दाखेरी अर्थ सम्हालेको मन्त्रीले मान्दैन । मन्त्री फेरौं भन्दा नेताले मान्दैन । त्यसैले नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि ! तर पनि हाम्रो संख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ, बहुमत पुर्‍याउनुपर्छ । यो बाध्यता त हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement