विद्यालय शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्‍याउनुपर्छ : मन्त्री पन्त

विद्यालय शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्‍याउनुपर्छ : मन्त्री पन्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० को सम्बन्धमा छलफल भएको छ ।

बुधबार समितिको बैठक कक्षमा विद्यालय शिक्षा विधेयक २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको हो ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक २०८० लाई टुङ्गोमा पुर्‍याउन आफू गम्भीर भएर लागेको बताए । उनले निरन्तर छलफल गरी विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्‍याउन आफू गम्भीर रहेको बताए ।

उनले भने, ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्‍याउन म गम्भीर तरिकाले लागेको छु । निरन्तर छलफल गरेर यो विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्‍याउनुपर्छ । विधेयकको छलफल सोमबारसम्म जारी नै राखौं । कतिपय विषयहरू छन् तर विषयहरू भए पनि छलफललाई लम्ब्याऊँ भन्न खोजेको होइन । राजनीतिक तहमा पनि मैले विद्यालय शिक्षा विधेयकलाई सहमति नजिक पुर्‍याउन खोजेको छु ।’

विधेयकमा रहेका कतिपय विषयमा राजनीतिक तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उनले बताए । मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुङ्गोमा पुर्‍याउने गरी छलफल अघि बढाउन सुझाव दिए ।

समिति सभापति अम्बर बहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुङ्गोमा पुर्‍याउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरी चरणबद्ध रूपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे ।