पोखरामा खेलाडीको खसेर मृत्यु भएपछि देशभर प्याराग्लाइडिङ उडान बन्द


काठमाण्डु – पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान बन्द गरेको छ ।

आइतबार नवौं राष्ट्रिय खेलकुदमा सहभागी भएका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका लागि देशैभर उडान बन्द गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अधययन गर्ने भएको छ ।सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा आर्मीको तर्फबाट सहभागी भएका पोखराका निसिम थापाको खसेर मृत्यु भएको थियो ।

प्रतियोगितामा सहभागी हुन पोखराको सराङकोटबाट बिहान १०ः३० बजे उडेलगत्तै उनी करिब एक सय मिटर तल जमिनमा बजारिएका थिए । ग्लाइडर नखुलेर वा हावाको उल्टो बहावका कारण उनी जमिनमा बजारिएको अनुमान गरिएको छ ।

उनलाई उपचारको लागि गण्डकी अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । पोखरा १० हस्पिटलचोकका २६ वर्षीय थापा प्याराग्लाइडिङका उत्कृष्ट खेलाडीमध्येका एक खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement