खेलाडीको मृत्युपछि रोकिएको प्याराग्लाइडिङ उडान आजदेखि सुरू


काठमाण्डु – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको खसेर मृत्यु भएपछि प्रतिबन्ध लगाइएको प्याराग्लाइडिङ उडान आइतबारदेखि सुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित देशभर प्याराग्लाइडिङ उडान खुला गर्न अनुमति दिएको हो ।प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीले जानकारी दिए ।

प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपर्ने शर्त राखेको छ ।

असोज ३० गते नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङको ‘क्रसकन्ट्री’ प्रतियोगिताका क्रममा खसेर नेपाल आर्मीका खेलाडी पोखराका २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । यो दुर्घटनापछि तत्कालै बसेको प्राधिकरणको बैठकले देशैभरि प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement