अब थप ६ देशमा परराष्ट्रमन्त्रालयका सहसचिव राजदूत बन्दै


काठमाडौं – सरकारले यसअघि चार देशमा राजदूत सिफारिस भएकोमा अब थप ६ देशमा परराष्ट्रमन्त्रालयका ६ जना सहसचिवलाई सिफारिस गर्ने अन्तिम तयारी गरेको छ ।

श्रोतका अनुसार भृगु ढुङ्गाना क्यानाडा, गणेश प्रसाद ढकाल थाइल्यान्ड, दुर्गा प्रसाद भन्डारी कुवेत र मणि भट्टराई जेनेभास्थित युएन मिसनमा र सहसचिव दीपक अधिकारीलाई फ्रान्स सिफारिस गर्न लागिएको छ ।

यसैबीच न्युयोर्क्स्थित युएन मिसनमा हालै दक्षिण अफ्रिकाबाट बोलाइएका सहसचिव अमृतबहादुर राईलाई सिफारिस गर्ने अन्तिम तयारी छ । परराष्ट्र मन्त्रालयले यो प्रस्ताव मन्त्रीपरिषद्मा पठाइसकेको छ । वरिष्ठ सहसचिव भरतराज पौड्याललाई यसअघि न्युयोर्क सिफारिस गर्न लागिएको भए पनि अन्तिममा रोकिएको थियो ।

सिफारिस भएका मध्ये अधिकारी प्रमुख शिष्टाचार महापाल, ढकाल चीन हेर्ने महाशाखा प्रमुख, ढुङ्गाना भारत महाशाखा प्रमुख छन् । यसअघि सिफारिस भएका भारतका लागि राजदूत निलाम्बर आचार्य, युएईका कृष्ण ढकाल, मलेसियाका उदयराज पाण्डे र इजरायलका लागि अन्जान शाक्यको संसदीय सुनुवाइ २३ मंसिरमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement