विदेशमा अलपत्र रहेका ६८७ नेपालीको उद्धार गरियो : परराष्ट्र मन्त्रालय

विदेशमा अलपत्र रहेका ६८७ नेपालीको उद्धार गरियो : परराष्ट्र मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन ‘मोफा मित्र’ एप ल्याउने भएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ‘मोफा मित्र’ आगामी जेठ २२ गते सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएका हुन् ।

व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई पनि थप विस्तार गरिएको छ ।

यस्तै मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ ।

भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता क्षेत्रीले दाबी गरे ।

नयाँ दिल्लीस्थित नेपाली दुतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको उनको भनाइ थियो ।

यस्तै मन्त्रालयले विभिन्न देशमा फसेका तथा अलपत्र अवस्थामा रहेका ६ सय ८७ नेपालीको उद्धार गरेको छ ।

कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ६ सय ८७ जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा थपिएका ७१ जना रहेका छन् ।

प्रवक्ता क्षेत्रीकाअनुसार कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीको कानुनी सहायताका लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाहाका लागि कूटनीतिक प्रयास जारी छ।

यस्तै राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको जानकारी दिएको छ। असार अन्तिम सातादेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू हुने र हाल राहदानी सेवा सुचारु रहेको मन्त्रालयले स्पष्ट पारेको छ। नयाँ प्रणालीमा संक्रमणकालीन अवस्थामा सहजताका लागि पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठ महिनाभित्रै आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ।