काठमाण्डु– दक्षिण कोरियाका राजदूत पार्क तइयोङ र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्ने बताए । उनले दुई मुलुकबीचको सम्बन्धका प्राथमिकतामा व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई राख्नुपर्ने उल्लेख गरे। उनले भने, ‘लगानीका लागि हामीले विभिन्न क्षेत्रको पहिचान गर्नुपर्छ । अहिले हामी ऊर्जा र उत्पादनको क्षेत्रमा छौँ। अब हामीले अन्य क्षेत्रमा पनि जोड दिनुपर्छ ।’
शिक्षा क्षेत्रमा अनुसन्धान संस्थाहरूबीच सहकार्य गर्नुपर्नेमा पनि उनले जोड दिए । साथै, परराष्ट्रमन्त्री खनालले दक्षिण कोरियाले सञ्चालन गर्दै आएको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम दुई मुलुकबीचको सम्बन्धको नमुना रहेको बताए । उनले ईपीएसले नेपाल र दक्षिण कोरियाबीच जनस्तरको सम्बन्धमा समेत सकारात्मक प्रभाव पारेको उल्लेख गरे ।
आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत पार्कले नेपालमा रहेर गरेको सेवाप्रति परराष्ट्रमन्त्री खनालले प्रशंसा गरे । राजदूत पार्कले आफू जहाँ गए पनि नेपाललाई कहिल्यै नबिर्सने भन्दै नेपालको सांस्कृतिक विविधताको समेत प्रशंसा गरे ।




प्रतिक्रिया