काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते साँझ सर्बिया जाँदै छन् । असंलग्न आन्दोलन (नाम) उच्चस्तरीय स्मरणसभा (हाईलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन मन्त्री खनाल सर्बियाको राजधानी बेलग्रेड जान लागेका हुन् ।
उनी भदौ १७ गते नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) हुने उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ । परराष्ट्रमन्त्री खनालको नेतृत्वमा ३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छन् ।
सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो। पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो।
उक्त कार्यक्रममा विश्वका नेताहरू, विभिन्न मुलुकका प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ।
असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई संविधानले समेत प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ।
नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्रीस्तरीय बैठक तथा अन्य बैठकहरूमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ। साथै, नेपालले यस आन्दोलनमा निरन्तर रचनात्मक भूमिका निर्वाह गर्दै आएको छ।




प्रतिक्रिया