अन्ततः पारस शाहले मागे माफी


काठमाडौं – आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीलाई आफूले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उक्त घटनाप्रति पूर्वयुवराज पारस शाहले माफी मागेका छन् ।

प्रहरीले उक्त घटनाबारे छानबिन थालेको बताइरहेका बेला सोमबार मध्यराति पूर्वयुवराज पारसले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षमा मागेका हुन् ।

सोमबार राति करिब १ बजेतिर अंग्रेजी भाषामा स्टाटस लेख्दै उनले आफ्नी आमा बायोप्सीका लागि बैंकक जान लागेको, त्यो बेला आफू दुःखी भएकाले प्रहरीप्रति त्यस्तो व्यवहार हुन पुगेको उल्लेख गरेका छन् ।

त्यसका लागि सम्बद्ध पक्षसँग ‘क्षमायाचना गर्न चाहन्छु’ भन्दै पारसले आफ्नो ठाउँमा जुनुसुकै नेपाली बाबु भए पनि त्यसै गर्थे समेत भनेका छन् । बाँकी कुरा निर्णयका लागि नेपाली जनतालाई नै छाड्ने उनले उल्लेख गरेका छन् ।

पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएका बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई सार्वजनिकस्थलमै छातीमा धक्का दिएर दुर्व्यवहार गरेका थिए । पारसले ड्युटीमा रहेका प्रहरमिाथि हातपात गरेको भन्दै पारसलाई कारबाही गर्न माग गरिएको थियो । यस विषयमा प्रहरीले छानबिन थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement