अब बाबुराम र म सँगै उभियौँ, कसैले रोकेर रोकिँदैन : अध्यक्ष प्रचण्ड


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई र आफू सँगै उभिएकाे बताएका छन् ।

मंगलबार पेरिशडाँडामा भट्टराईसहित नेपाल समाजवादी पार्टीका नेताहरूसँग छलफल गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले अब बाबुराम र आफू एकै ठाउँमा उभिएको बताएका हुन् ।

‘बाबुरामजी र प्रचण्ड सँगै उभिने कुराको धेरै ठूलो अर्थ र महत्व छ,’ उनले भने, ‘हामी उभियौं अब, कसैले रोकेर रोकिँदैन। त्यो ठूलो कुरा हो।’ उनले अहिले एकै चुनाव चिन्ह र घोषणा पत्र लिएर चुनावमा जाने सहमति भएको बताए। तर अहिले नै पार्टी एकताबारे सहमति भइनसकेको उनले बताए ।

उनले चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायतलाई समेटेर कम्युनिस्ट पार्टी बनाइने बताए । ‘एकता चुनावअघि सम्भव छैन । तर चुनावपछि चाहिँ नेकपा वा त्यसको पछाडि समाजवादी वा अरु केही हुनसक्छ’, प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement