अर्ली इलेक्सनकाे सम्भावना छैन : अध्यक्ष प्रचण्ड


धनगढी – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सनकाे सम्भावना नरहेकाे बताएका छन् ।

एमालेकाे अवराेधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहकाे चुनावअघि अर्ली इलेक्सनबारे छलफल भएका विवरण सार्वजनिक भइरहेका बेला प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताएका हुन् ।

साेमबार बिहान धनगढी विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा प्रचण्डले भने- एमालेले दुई पटक संसद विघटन गर्‍याे । अहिले संसद चल्न दिएकाे छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएकाे छ । त्याे सत्य हाेइन ।’

३० वैशाखमा स्थानीय तहकाे चुनाव घाेषणा भइसकेकाे र अब साेही अनुसार प्रक्रिया अगाडि बढ्ने अध्यक्ष प्रचण्डले भनाइ छ ।

सुदूरपश्चिम सरकारमा कांग्रेसकाे इन्ट्रि हुने

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसकाे इन्ट्रि हुने भएकाे छ । तत्कालीन नेकपा विभाजनपछि सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर भए पनि माओवादी केन्द्रले नेतृत्व गरिरहेकाे छ । तर, बहुमत मन्त्री एकीकृत समाजवादीका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेकाे बताए । ‘चुनाव आएकाे छ, कांग्रेसले पनि सरकारमा जान चाहेकाे छ,’ प्रचण्डले भने, ‘एकीकृत समाजवादीका केही मन्त्रीलाइ फिर्ता बाेलाएर कांग्रेस भित्र्याउने सहमति भएकाे छ ।’ यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएकाे उनले बताए ।

हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसकाे समर्थन रहे पनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्‍मा सात समाजवादी र चार माओवादीका मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement