नक्कली शरणार्थी प्रकरण नसेलाउँदै प्रधानमन्त्री प्रचण्डलाई दोहोरो तनाव !


काठमाण्डु – संघीय राजधानी काठमाडौं यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरण चर्चाको शिखरमा छ । नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरू छानबिनका क्रममा तानिएका छन् ।

नेकपा एमालेका निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रहरी नियन्त्रणमै छन् । अन्य आरोपी समेत दिनदिनै पक्राउ परिरहेका छन् । प्रहरीले हालसम्म १५ जनालाई पक्राउ गरिसकेको छ ।

सत्तारुढ दल कांग्रेसकै नेता खाण पक्राउ पर्नु र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाको नाम समेत चर्चामा आउनुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तनाव छ । खाणलाई पक्राउ गरेकोप्रति कांग्रेस सभापति देउवाले असन्तुष्टि व्यक्ति गरेका छन् भने छानबिन नसकिँदै भित्रका कुरा बाहिर चुहाएर आरजुको नाम बदनाम भएकोप्रति पनि देउवा रिसाएका छन् । सरकारमा सहभागी सबैभन्दा ठूलो दलका सभापति असन्तुष्ट बनेपछि प्रधानमन्त्रीलाई तनाव हुने नै भयो ।

अर्काेतिर १ नम्बर प्रदेशको नाम कोशी राखिएपछि पूर्वी नेपालमा आन्दोलन छ । जातीय पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने पक्षधरले आन्दोलन गरिरहेको छ । देशमा जातीय राजनीतिको विजारोपण गरेको माओवादी केन्द्र १ नम्बर प्रदेशमा कोशीको पक्षमा उभिएको थियो । संसदबाहिर जातीय राजनीतिको चर्काे नारा दिने र संसदभित्र कोशीको पक्षमा उभिने माओवादीको दोहोरो चरित्र जनस्तरमा उदांगो भएपछि पहिचान पक्षधर आक्रोशित बनेका छन् । यसको तनाव स्वाभाविक रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डसँग पुग्ने नै भयो ।

यति मात्रै कहाँ हो ? सरकारमै सहभागी दल नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्नेसम्मको आन्दोलन घोषणा गरेको छ । पार्टीका संरक्षक रेशम चौधरीलाई जेल सजाय हुने फैसलालाई सर्वाेच्च अदालतले सदर गरिदिएपछि उन्मुक्ति पार्टी रिसाएको छ । उन्मुक्ति पार्टीले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिवेदन सार्वजनिक नभए नेपाल बन्द गर्ने चेतावनी दिएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै जेठ ३, ४, ५ गते देशव्यापी रूपमा आन्दोलन र जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द घोषणा गरेका छन् ।

उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ प्रचण्ड सरकारमा भूमि व्यवस्थामन्त्री छिन् । सत्तारुढ दलले नै नेपाल बन्द गरेर आन्दोलनमा गएपछि प्रचण्ड अप्ठ्यारोमा पर्ने भएका छन् ।

माओवादी लडाकु शिविरमा भ्रष्टाचार भएको भन्दै पटक–पटक चर्चामा आउने गरे पनि यसपटक छानबिन नै हुनुपर्ने गरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दबाब दिन थालेको छ । लडाकु शिविरको घोटालामा छानबिन भएमा प्रचण्ड समेत मुछिन सक्ने अनुमान गरिन्छ । यी तमाम विषयलाई टार्ने र प्रधानमन्त्री बनिराख्ने उपाय खोज्नमा प्रचण्ड लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement