परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध यो एउटा युद्धकै घोषणा हो : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्षणिक र आवेगमा समाजवादी मोर्चा गठन नगरिएको बताएका छन् ।

  सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा घोषणामा बोल्दै प्रधानमन्त्री प्रचण्डले क्षणिक र आवेगमा मोर्चा गठन नगरिएको बताएका हुन् । उनले मोर्चामा सबैलाई समेट्ने प्रयास गर्ने पनि बताए ।

‘नयाँ शिराबाट तिता मिठा अनुभवको समीक्षा गर्दै जनताको हकलाई सुनिश्चित गर्न समाजवादतर्फ लैजान गठन भएको हो, हिजो हतारमा एकता गरेर सफल गर्न नसकेका नेताहरूलाई पनि मोर्चाको बाटो गरी जाऔँ’, प्रचण्डले अपिल गर्दै भने, ‘नेकपाले आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अघि बढाउनेछ भन्ने विश्वास लिएको तर दुर्भाग्य जनताको अपार समर्थनका बाबजुद नेकपा बचाउन सकेनौ ।’

उनले नेकपा टिक्न नसक्नुमा सबै समीक्षा गर्नुपर्ने पनि बताए । ‘कहाँ त्रुटि गर्‍यौ समीक्षा गरौँ । मलाई कहिलेकाहीँ लाग्छ–पार्टी एकता गर्न पो हतार गरेछौ कि ? मोर्चा गठन गरेर एकता गर्ने उद्देश्य राखेको भए सफल हुन्थ्यो कि यो सोच्नुपर्ने प्रश्न छ’, प्रचण्डको भनाइ छ । उनले मोर्चाको बाटोबाट नगएर फड्केर जाँदा दुर्घटना भएको भन्दै अग्रगमनका पक्षमा रहेका दलहरूलाई मोर्चामा सहभागी हुन आग्रह गरे । प्रचण्डले हिजो नेकपाको समेत स्मरण र तितो अनुभव ख्याल गर्दै समाजवादी मोर्चा गठन गरेकाले अब आफूहरूको सफलतालाई कसैले रोक्न नसक्ने बताए ।

त्यस्तै उनले परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको समेत बताए ।

प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । मोर्चा घोषणा कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भने उपस्थित छैनन्।

प्रतिक्रिया दिनुहोस
Advertisement