पार्टी एकता विधि विधान र सिद्धान्तमा टेकेर गछौं,व्यक्तिको मुख हेरेर हैन :अध्यक्ष प्रचण्ड


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुंगोमा पुगेको बताएका छन्। आइतवार राष्ट्रिय सभामा आयोजित ७० औं पार्टी स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकताको सम्पूर्ण काम टुंगिएको र भोलि ९ गते नै घोषणा गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

’हामी दुई अध्यक्षले सल्लाह गरेका छौं, पार्टी एकताका लागि आज दिनभरी बालुवाटारभित्रै दुईजना कमरेडलाई खटाएका छौं,’ अध्यक्ष प्रचण्डले भने, ’हामीले पार्टी एकता विधि विधान र सिद्धान्तमा टेकेर गर्दैछौं । व्यक्तिको मुख हेरेर अब साध्य छैन । बेलुका ५ बजे पुनः दुई अध्यक्षको बैठक हुन्छ त्यसपछि ६ बजे पार्टी सचिवालयको बैठक बस्ने कार्यक्रम छ ।’

‘ढिलै भए पनि पार्टी एकताको काम टुंगिएको छ’, उनले भने, ‘भोलि हुने कार्यक्रममा यसको घोषणा हुन्छ।’ प्रचण्डले भने,तीन महिनामा टुंग्याउने भनेको एकता प्रक्रियालाई लामो समय लागेपछि नेता कार्यकर्ता र आम जनतामा चिन्ता सुरु भएको भन्दै अब त्यसको अन्त्य भएको बताए। जिल्ला तहसम्म र जनवर्गीय संगठनको एकतामा दुई अध्यक्षबीच सहमति भइसकेको भन्दै त्यसलाई औपचारिक रुपमा टुंग्याउने जिम्मा कार्यदललाई दिएको बताए।

आजै साँझ पाँच बजे बस्ने सचिवालयको बैठकले सम्पूर्ण कुरा टुंग्याउने उनको दावी थियो। नेकपाले सोमबार पार्टी स्थापना दिवसको अवसरका कार्यक्रमको आयोजना गर्दै छ। सोही कार्यक्रममा दुवै अध्यक्षले पार्टी एकताको अन्तिम घोषणा गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement