सरकारका सचिव र ठूला निर्माण व्यवसायीको सेटिङमा निर्माण क्षेत्रमा सिण्डिकेट :प्रचण्ड 


चितवन -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रको सिण्डिकेटपछि अब निर्माण क्षेत्रको सिण्डिकेट तोड्ने चेतावनी दिएका छन् ।

निर्माण व्यवसायी संघ चितवनको २५ औं साधारण सभालाई बुधबार चितवनको भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ठूला विकास निर्माणको काम नगर्ने  ठेकेदारलाई कार्वाही गर्ने चेतावनी दिएका हुन । उनले प्याकेजको नाममा एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको समेत खुलासा गरे ।

प्रचण्डले भने ‘मन्त्रालयका सचिवहरुलाई मैले ठूला विकास निर्माणका काम एउटै निर्माण व्यवसायीलाई नदिनुहोस, टुक्रामा ठेक्का दिनुहोस, त्यसो गर्दा काम पनि छिटो हुन्छ, प्रतिस्पर्धामा काम हुन्छ भनेको थिएं तर, सचिवहरुले हुन्छ हुन्छ भन्दै टारे ।’ प्रचण्डले सेटिङ तोडेर निर्माण क्षेत्रको सिण्डिकेटको अन्त्य गरिने दाबी गरे ।

आधा दर्जन पुल एउटै ठेकेदारलाई ठेक्कामा दिंदा समयमा काम पूरा नहुने समस्या आएको उनको भनाइ थियो । ‘एउटैले चारैतिर ओगटेको छ, काम पनि हुंदैन,’ प्रचण्डले भने, ‘साना निर्माण व्यवसायी रोएर हिंडेका छन् । ठूलाले एकाधिकार जमाएका छन् । यो एकाधिकार तोड्ने काम अब सुरु हुनेछ ।’

सरकारका सचिव र ठूला निर्माण व्यवसायीको सेटिङमा निर्माण क्षेत्रमा सिण्डिकेट रहेको बताउंदै अध्यक्ष प्रचण्डले अब निजी क्षेत्र र सरकार दुबैले आआफ्ना गल्ती र कमजोरी सच्याएर अगाडि बढ्नु पर्ने बताए ।

व्यवसायमा लाग्नेलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउंदै उनले भने, ‘निजी क्षेत्र नाफाकै लागि व्यवसाय गर्छन् । राज्यले नाफा कमाउने स्वतन्त्रताको ग्यारेण्टी गर्नुपर्छ । निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि आउंदैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement