३ नं प्रदेशको बैठक सम्पन्न ,बैठक ऐतिहासिक रहेको सांसदको भनाई


नानीमाया विष्ट

 

हेटौंडा – हेटौंडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो ।

 

आज प्रदेशको राजधानी हेटौँडामा बसेको पहिलो बैठकले संसद सञ्चालनको लागि पांच जना सदस्यहरुको समेत चयन गरेको छ ।

 

दिंउसो १  बजेदेखि २ बजेसम्म १ घण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको छ । यस्तै संसद नियमावली नबन्नुनजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्यविधि पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सोका लागि तयारी गर्न निर्देशन समेत दिएको छ ।

 

 

बैठक पछि प्रतिक्रिया दिंदै सभासद उर्मिला कर्माचार्यले बैठक ऐतिहासिक रहेको बताइन ।  छोटो समयमा भौतिक संरचनाहरुको थप व्यवस्थापन गर्न जरुरी रहेको भन्दै अर्का सभासद प्रेम बहादुर पुलामीले आफूहरु उत्साहित र खुसी भएको बताए ।

 

नेकपा एमालेकी नेतृ तथा सभासद अष्टलक्ष्मी शाक्यले प्रदेशको राजधानी उपत्यका बाहिर नै उपयुक्त हुने बताएकी छिन । मुलुकको राजधानी काठमाण्डौं रहेको अवस्थामा उक्त अवस्थामा राजधानी उपत्यका भन्दा बाहिर हुनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement