‘प्रकाण्ड’ परे चौथोपटक पक्राउ


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सर्वाेच्च अदालतले पटकपटक रिहाको आदेश दिए पनि प्रहरीले भने पटक पटक पक्राउ गरिरहेको छ ।

सोमबार नुवाकोट जिल्ला अदालतले रिहा गर्न आदेश दिएलगत्तै नेपाल प्रहरीले प्रकाण्ड’ लाई पक्राउ गरेको छ । उनलाई अदालत परिसरबाटै पक्राउ गरी भोजपुर लगिएको छ । ‘प्रकाण्ड’ चौथोपटक पक्राउ परेका छन्।

तर, भोजपुरमा प्रदेशसभा एवम् प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला उम्मेदवार शेरधन राईलाई लक्ष्य गरी बम आक्रमण गरी घाइते बनाएको घटनामा उनको संलग्नता रहेको दाबी गर्दै प्रहरीले पक्राउ गरेको हो।

यसअघि पनि अदालत परिसरबाटै पक्राउ परेका उनलाई नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ९ स्थित सडक निर्माणमा प्रयोग भएको दुई थान स्काभेक्टरमा आगजनी गरेको अभियोगमा मुद्दाको अनुसन्धान गरी पर्याप्त आधार र कारण तथा प्रमाण प्रयाप्त नभएको भन्दै तत्काल रिहा गर्न सर्वोच्चले आदेश दिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सोमबार अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशलाई अपमान गरेको भन्दै नुवाकोट जिल्ला अदालतका न्यायाधीशको रोहबरमा छाड्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशलगत्तै नुवाकोट प्रहरीले जिल्ला अदालत नुवाकोटमा बुझाएर रिहा गरेको थियो। त्यसपछि प्रहरीले विश्वकर्मालाई अदालत परिसरमा छोडेलगत्तै अदालत परिसरबाटै भोजपुर लैजान भन्दै ‘जरूरी प्रकाउ पूर्जी’ दिएर नियन्त्रणमा लिएको हो। ‘प्रकाण्ड’ गत साउन २२ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement