प्रकाशचन्द्र लोहनीले दिए सरकारलाई चार सुझाव


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निशान छापमा लिम्पियाधुरा समावेश गर्ने, त्यस भेगमा सेना तैनाथ गर्ने र सरकारी कार्यालय खडा गरी स्थानीय जनतालाई विशेष सुविधा दिनु पर्ने मत सार्वजनिक गरेका छन् ।

सन् १८१६ मा बेलायतसँग भएको नेपालको सन्धिबमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भमि हो, अध्यक्ष लोहनीले सामाजिक संजालमा सन्देश जारी गर्दै मंगलबार भने । राष्ट्रपतिको सम्बोधनबमोजिम लिम्पियाधुरासहित नेपालको नक्सा जारी गर्ने सरकारको निर्णय स्वागत गर्दै उनले सरकारलाई चार सुझाव दिए ।

१. दोस्रो जनआन्दोलनपछि २०७२ को संविधानको अनुसूची ३ मा नेपाल सरकारको निशान छापमा राखिएको नेपालको नक्सामा सन् १८१६ देखि कायम भएको लिम्पियाधुरा क्षेत्र छुटेको छ । यो विगत १४ वर्षदेखिको ठूलो त्रुटी हो । नयाँ निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अब राखिनु पर्दछ ।

२. त्यस क्षेत्रमा सशस्त्र प्रहरी बलको पछाडि नेपाली सेना तैनाथ गरिनु पर्दछ ।

३. त्यस क्षेत्रमा जनतालाई आवश्यक नेपाल सरकारको कार्यालयको उपस्थिति राम्रो हुनेछ ।

४. त्यस क्षेत्रमा यातायातमा विशेष ध्यान दिई जनतालक्षित अन्य विकास कार्यक्रम आउँदो वर्षदेखि विशेष चासो राखी लागू गर्नु पर्दछ । त्यहाँका नेपाली जनताले राज्यबाट अहिले जस्तो उपेक्षित भएको महसुस गर्नु नपरोस् । यो बँुदामा यसपालीको बजेटले ध्यान देओस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement