प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको बुधबारको बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले बुधबारको कार्यसूचीमा रहेका प्रस्तावहरू पारित भएको घोषणा गर्दै बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

बुधबारको बैठकले विभिन्न महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ३ वटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गरेकी थिइन् । मन्त्री गौतमले प्रस्तुत गरेका ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘नि:शुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई सभाले समितिमा पठाउन स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् । त्यो विधेयक पनि सभाबाट पारित भएको छ ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ माथि छलफल गरियोस् र सो विधेयक पारित गरियोस् भन्ने २ वटा प्रस्ताव पेश गरेका थिए । मन्त्री पुनले पेश गरेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको विधेयकलाई सभाले पारित गरेको छ ।