छलफल छाडेर सांसदहरू बाहिरिएपछि कार्यसूची अधुरै, प्रतिनिधिसभा बैठक स्थगित


काठमाण्डु – प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथिको सैद्धान्तिक छलफल छाडेर सांसदहरू बाहिरिएपछि कार्यसूची अधुरै रहेको छ ।

बैठकमा गणपुरक संख्या नपुगेकाले विधेयक निणयार्थ प्रस्तुत हुन सकेन । सैद्धान्तिक छलफल निणयार्थ प्रस्तुत गर्ने समयमा सांसदहरूले नियमापत्ति गर्दै गणपुरक संख्यामाथि शंका गरेका थिए ।

सभामुखको निर्देशनपछि ३ मिनेट घण्टी बजाएर संख्या गणना गर्दा ५९ जना सांसद मात्रै बैठकमा रहेका देखिएको थियो । संविधानअनुसार कूल सदस्य संख्याको एकचौथाइ अर्थात् ६९ सांसदको उपस्थिति नभई कुनै पनि निर्णय वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न पाइँदैन ।

नेपालको संविधानको धारा ९४ मा उल्लेख छ, ‘यस संविधानमा अन्त्यथा लेखिएकोमा बाहेक संघीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।’

गणपुरक संख्या नपुगेपछि मंगलवारको बैठक स्थगित गरेर अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement