सरकारले कैयौ गल्ती गरिरहेको छ : विश्वप्रकाश शर्मा


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सरकारले कैयौ गल्ती गरिरहेको बताएका छन् ।

आज शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जघन्य अपराधमा संलग्नहरूलाई आममाफी दिएकोमा आइन्दा त्यस्ता गल्ती नगर्न सचेत गराए ।

उनले भने, ‘अपिल र आग्रह गर्न चाहन्छु– सरकारले कैयौ निर्णयहरूमा जो कमजोरी गरिरहेको छ, यो विषयमा कमजोरी नगरोस् ।’

आन्दोलनरत शिक्षकहरूका सबै मागलाई पूरा हुने गरी विधेयक परिमार्जन गर्न उनले आग्रह गरे । सरकारले संसद्मा पेश गरेको विद्यालय शिक्षा विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने उनले बताए ।

‘शिक्षक आन्दोलन जे भएको थियो र त्यसले प्रस्तुत गरेको १/१ बुँदामा किन्तु, परन्तु केही पनि नगरी राहत शिक्षकहरूले समेत राखेका भावनालाई सम्बोधन गरेर यसलाई संशोधनको अंग बनाइराखेर यसलाई परिमार्जित गरेर ती सबैको भावनालाई सम्बोधन गर्ने गरी बनोस् । ताकि ५० वर्षपछि आएको यो विधेयकले अब २० वर्षका लागि उज्यालो छर्न सकोस्,’ उनले भने ।

उनले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement