नियमावलीको नियम ५६, जसका कारण रोकियो संसद् बैठक

नियमावलीको नियम ५६, जसका कारण रोकियो संसद् बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–विपक्षी दलहरूले संसद नियमावलीको बाध्यकारी व्यवस्थाअनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग संसदमा प्रश्नोत्तर कार्यक्रम नराखेको भन्दै बिहीबार संसद् बैठक अवरुद्ध गरेका छन् ।प्रमुख प्रतिपक्षी काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख डोलप्रसाद अर्याल (डिपी) ले प्रधानमन्त्री तथा गृह, रक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक–२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएपछि विपक्षी दलका सांसदहरुले उठेर विरोध गरेका थिए ।

सभामुख डोलप्रसाद अर्याल (डिपी) ले नै नियमावलीको व्यवस्था पालना नगराएको भन्दै विपक्षीले आलोचना गरे । एमाले प्रमुख सचेतक ऐन महरले संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कहिले हुन्छ ? भन्दै सभामुखलाई प्रश्न गरे ।

नेकपा प्रमुख सचेतक युवराज दुलालले पनि सरकार संसदप्रति उत्तरदायी हुनुको साटो संसद छल्ने काममा उद्धत रहेको आरोप लगाए ।

श्रम संस्कृति पार्टीका सांसद् आरेन राइले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिनुपर्ने माग गरे ।

राप्रपा प्रमुख सचेतक खुस्वु ओलीले प्रधनमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नराखिएकामा आपत्ति जनाइन् । उनले सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने अधिकार नियमावलीमा रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराइन् ।

प्रधानमन्त्रीले संसद् सञ्चालन रहेको अवधिमा प्रत्येक पहिनाको पहिलो साता बैठकलाई सम्बोधन गर्नुपर्ने व्यवस्था नियमावलीमा रहेको उद्धृत गर्दै प्रधानमन्त्री शाहलाई रुलिङ गर्न सभामुखसँग मागग गरिन् । नियमावलीको नियम ५६ प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने भन्ने व्यवस्था छ ।

नियम ५६ को उपदफा (१) मा कारणबस साताको पहिलो दिन तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुन नसके त्यसपछि बस्ने अर्को बैठकमा गर्नुपर्ने नियमावलीमा छ ।नियमावलीको व्यवस्थाअनुसार साताको अन्तिम दिन आजसम्म प्रधानमन्त्रीसँग प्रश्नोत्तर भइसक्नुपर्ने थियो । तर, सभामुखले प्रश्नोत्तर कार्यक्रम बैठकको कार्यसूचीमै समावेश गराएका छैनन् ।

सभामुख अर्यालले विपक्षी सांसदले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए । तर, विपक्षी सांसदले अडान नछाडेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगन गरे ।