समयमा पानी परेपछि पर्सामा गहुँको उत्पादनमा वृद्धि


पर्सा – समयमा पानी परेपछि पर्सामा यसवर्ष गुहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ। बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहुँको उत्पादन राम्रो भएको किसानले बताएका छन्। गतवर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट ७० हजार ४ सय मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यसवर्ष २६ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ९३ हजार ७ सय मेट्रिक टन गहुँ उत्पादन भएको हो। गत वर्षको भन्दा यस वर्ष २३ हजार ३०० मेट्रिक टन भन्दा बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ।

गतवर्ष प्रतिहेक्टर ३.२ मेट्रिक टनको दरले उत्पादन भएकोमा यसवर्ष प्रति हेक्टर ३.६ मेट्रिक टन उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक सहायक श्यामकिशोर कुर्मीले जानकारी दिए। उनले यसवर्ष मौसमले साथ दिएको र ज्ञान केन्द्रले वितरण गरेको उन्नत जातको बीउ किसानले लगाएका कारण उत्पादन वृद्धि भएको बताए।

गतवर्ष पर्सामा एक अर्ब ८३ करोड चार लाख रुपैयाँ बराबरको उत्पादन भएकोमा यसवर्ष दुई अर्ब ५२ करोड ७२ लाख रुपैयाँ बराबरको गहुँ उत्पादन हुने कुर्मीको भनाइ छ। पर्सामा रहेको कुल ५० हजार हेक्टर खेतीयोग्य जमिन मध्ये ३ हजार १ सय हेक्टर जमिनमा मात्र सिँचाई सुविधा उपलब्ध छ।

जिल्लाको सिञ्चित क्षेत्रलाई वृद्धि गर्न प्रदेश–२ को सरकारले किसानलाई ८५ प्रतिशत अनुदानमा १५० थान विद्युतीय मोटर वितरण गर्न ४५ लाख रुपैयाँ विनियोजन गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। विनियोजित बजेटबाट मोटर जडान भएपछि कृषि कार्यमा लागत घट्नुको साथै ४सय हेक्टरभन्दा बढी जग्गालाई सिँचाइ सुविधा पुग्ने कुर्मीले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस
Advertisement