पुर्व युवराज पारसलाई कार्वाही गर्न दबाव, के गर्ला प्रहरी ?


काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहका पुत्र पारस शाह पटक–पटक विवादमा आउँछन् । नेपालमा राजतन्त्र रहँदा समेत पारसले अनेक विवादित हर्कत देखाए ।

नेपालमा राजतन्त्र बदनाम हुनुमा पारस शाहको पनि योगदान छ । राजतन्त्र हटेर नेपालमा गणतन्त्र आइसक्दा समेत पारश शाहका बानीव्यवहार सुध्रिएका छैनन् । उनले आईतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायब निरीक्षक (सई) माथि दुर्व्यवहार गरेका छन् ।

कतिपय राजतन्त्र समर्थक ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भनेर नाराबाजी गरिरहँदा पारसको घृणित व्यवहार देखिएको छ । पारसका घृणित व्यवहारले उनकै समर्थकलाई लज्जित बनाउने काम गरेको छ । पारसले घृणित व्यवहार देखाउनुअघि प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउने खोज्नेको आलोचना गरेका थिए ।

प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यास पूर्ण र परिपक्व रूपमा कार्यान्वयनमा नआउँदै कतिपय अवाञ्छित तत्वहरू कमजोर बनाउन सक्रिय रहेको आरोप लगाए । संविधानसम्मत र संवैधानिक दायराका विषयलाई सरकारले सम्मान गरेपनि प्रणाली उल्ट्याउँछु भन्ने विषय सरकारलाई मान्य नहुने बताए ।

‘जुन संस्था र शक्तिहरूको कुरा गर्छन् मानिसहरू, ती शक्तिहरू ज्यूँदै हुँदा हामीले ठेगान लगाएका हौं । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भनेर परिकल्पना गरेर उफ्रिएको देखिन्छ । बेमौसमको यो बाजा नबजाए हुन्थ्यो । सरकारले यो उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधानको, प्रणालीको, व्यवस्थाको, लोकतन्त्रको र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ । त्यसको रक्षा र कार्यान्वयन गर्छ । जनताले दिएको म्यान्डेट यही हो,’ उनले भने ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको उदारता र संयमतालाई हेरेर केही तत्व बढ्तै हौसिएको टिप्पणी गरे । ‘अहिलेको सरकारको उदारता र संयमतालाई हेरेर केही तत्व बढ्तै हौसिएको देखिन्छ । संविधानसम्मत ढंगले चल्ने कुरामा संवैधानिक दायरामा चल्ने कुरामा यो सरकार प्रसन्नतापूर्वक विरोध र आलोचनाको स्वागत गर्छ । तर सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने, संविधान अस्वीकार गर्छु भन्ने कुरा सरकारलाई मान्य हुन सक्दैन । त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने तत्व नहौसिए हुने हो,’ उनले भने, ‘यो सरकार अचानक ह्विममा जनताको ‘फ्रस्टेसन’ माथि टेकेर बनेको हैन । तात्कालिक सेन्टिमेन्टको भल छोपेर बनेको पनि हैन । संघर्ष र बलिदानको इतिहास छ । विगतमा खेलेको भूमिकाबाट जनताले विश्वास गरेर, अभिमत दिएर लोकतान्त्रिक विधिको माध्यबाट बनेको हो । सरकारको लोकतन्त्रप्रतिको निष्ठाका सम्बन्धमा अनावश्यक भ्रम र हल्ला चलाइएका छन् । अधिनायकवादतर्फ गयो भन्ने कुरा नगरे हुन्छ । जनताले यस्ता कुरा पत्याउँदैनन् ।’

राजतन्त्र फर्काउन चलखेल गरिरहेकाहरूलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले कडा अभिव्यक्ति दिए । पूर्व युवराज पारस शाहले ओलीको बोली सुने कि सुनेनन् ? तर उनको व्यवहार झनै अराजक भएर निस्कियो । विमानस्थलमा उनले रमिता देखाए ।

शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरे । आमा र छोराछोरी थाइल्यान्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायव निरीक्षक (सई) लाई हातपात गरे । प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिएपनि घटनाबारे प्रहरी कार्यालय रानीपोखरीले समेत जानकारी राखेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह पहिल्यैदेखि थाइल्यान्डमा छन् ।

थाइल्यान्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । छोरा र भान्जालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै पारस प्रहरीमाथि जाइ लागेका थिए । पारसले प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement