महिलामाथि दुर्व्यवहार गरेको आरोपमा माओवादीका नगर अध्यक्ष डायमण्ड पक्राउ


टेक खाती, काठमाण्डु  – डडेल्धुरामा महिला सदस्यमाथि दुर्व्यवहार गरेको आरोपमा माओवादीका नगर अध्यक्ष सेर सिंह माल ‘डायमण्ड’ पक्राउ परेका छन् । नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटीका अध्यक्ष डायमण्डलाई प्रहरीले डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको हो ।

गत मंसिर १० गते माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य राजमती ऐरलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले काठमाण्डुपाटीलाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्व्यवहार  गरेको भन्दै उनीमाथि उजुरी परेपछि पक्राउ गरिएको हो । परशुराम नगरपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडा सदस्य  ऐरले आफ्नो घर शीर्षबाट लालढुंगा बजार हिँडेका बेला नगर अध्यक्ष डाइमण्डले दुर्व्यवहार गरेको भन्दै गत शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दर्ता गराएकी थिइन् ।

आफ्नो दाँतको उपचार गर्न र भर्खरै नेपाली कांग्रेसका जिल्ला सभापतिमा चयन भएका परशुराम नगरपालिकाका नगप्रमुख भीमबहादुर साउदको सम्मान कार्यक्रममा सहभागी हुन जोगबुढा जाने क्रममा अध्यक्ष डाइमण्डले दुर्व्यवहार  गरेको वडा सदस्य ऐरको दाबी छ ।


 के थियो घटना ?

पीडित ऐरले आफू जोगबुडा अस्पताल दाँत दुखेर उपचार गराउन गएको बताइन् । त्यही दिन कांग्रेसको कार्यक्रम पनि आयोजना गरिएको थियो । ‘कांग्रेसमा जाँदैछ’ भनेर दुव्र्यवहार गरेको बताउँदै ऐरले भनिन्, ‘हामीले कतै जाँदै नपाइने बोल्नै नपाईने हाम्रो पछि पछि लागिरहने , हाम्रो केहि अधिकार छैन, उनले भनिन् ।

आफु नगर अधिवेशन छोडेर कँही नजाने पनि उनले डायमण्डलाई जानकारी गराएको बताइन् । राजमतीका अनुसार डायमण्डले जबरजस्ती मोटरसाइकलबाट उतारेर गालीगलौज गरेका थिए । ‘मेरो पाखुरा समातेर उतारे । मेरो सुइटरको टाँक समेत टुट्यो । रंगुन पुलमा पुगेका बेला मेरो छातीमा समायो, र कहाँ जान लागेको ? मेरो तिमी माथि कति लगानी लागेको छ, मैले चुनावमा टिकट दिए, कहाँ जाँदैछस्  भनेर तथानाम गाली गरे’ उनले दुखेसो गर्दै भनिन्, ‘म बिचरी एकल महिला, उनले मलाई एक्लो भनेर त्यस्तो गरेका हुन् ।’

काँग्रेसको कार्यक्रममा जाने, पार्टी प्रवेश हुने, भनेर डायमण्डले भन्दा आफूले पार्टीमा प्रवेश हुनका लागि नभई अस्पताल जान लागेको बताउँदासमेत उनले कटालस्थित आफ्नो पसलमा ल्याएर बन्धक बनाएको पीडितको आरोप छ ।

‘डायमण्डको डरले म कँही पनि जाँदैन भनेर पसलमै बसिरहें र डायमण्ड निस्किएपछि आफू भागेर घर फर्किएँ,’ पीडित महिलाले दुःखेसो पोखिन् ।

गाउँका जान्ने सुन्ने र समस्या पर्दा चाहिने नेता डायमण्ड नै हुन् भनेर आफुहरु उनको मुख हेरेर बाँचिरहेकोले पनि पार्टी प्रवेश गर्ने कुनै योजना नभएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement