परशुरामकै भ्रष्ट ‘हेडसर’, जसले कुम्ल्याए विद्यालयको लाखौ रकम

परशुरामकै भ्रष्ट ‘हेडसर’, जसले कुम्ल्याए विद्यालयको लाखौ रकम


टक खाती, काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकाभित्र पर्ने पशुपति आधारभुत विद्यालयमा आर्थिक अनियमितता भएको छ । परशुराम-११ स्थित पशुपति आधारभुत विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले आर्थिक अनियमितता गरेका हुन् ।

प्रधानाध्यापक जोशीले आर्थिक वर्ष २०७९/८० अन्तर्गत भैपरी आउने खर्च भन्दै ठुलो रकम हिनामिना गरेका छन् । पटक पटक विवादमा तानिने जोशीले भैपरि आउने शिर्षकमा १ लाख ६ हजार ८ सय २० रुपयाँ खर्च भएको देखाएका छन् ।

भैपरी आउने खर्चमा बढीमा २० हजार अनुमान गरेपनि उनले उक्त रकम खर्च भएको देखाएका हुन् । यो रकम अस्वभाविक भएको र प्र.अ. जोशीले भ्रष्टाचार गर्ने काम गरेको एक जना स्थानीयले बताए ।

ती स्थानीयले प्र.अ. जोशीले भैपरी आउने खर्च भन्दै रकम हिनामिना गरेको खुलासा गरेका छन् । जसअनुसार छात्राबृत्ती अन्तर्गत २८ हजार ६०० रकममा २५ हजार ८०० व्यय रकम देखाइएको छ भने २ हजार ८ सयको कुनै हिसाब देखाएको छैन । त्यस्तै दिवा खाजा अन्तर्गत २ लाख २८ हजार २ सय २५ आय रकममा २ लाख ५ हजार ५ सय खर्च भएको (व्यय) रकम देखाइएको छ भने २२ हजार ७ सय ८५ को हिसाव देखाएको छैन ।

त्यस्तै ७३ हजार ९ सयको वाइ फाइ डिभाइस खरिद गरिएको थियो तर, विद्यालयमा इन्टरनेट जडान गरिएको छैन । वाइ फाइ डिभाइस शिक्षा शाखामा कार्यरत प्राबिधिक सहायक (प्रा.स.) ले लगेका छन् । वाइफाइमा रिचार्जको लागि प्रत्येक वर्ष १२ हजार सरकारले दिन्छ । वाइफाइ खरिद गरेको तिन वर्ष भयो तर, रिचार्जको लागि आएको ३६ हजार प्र.अ.जोशीले गायव गरेका छन् ।

त्यस्तै विज्ञान प्रयोगशाला अन्तर्गतको रकममा पनि हिनामिना गरेको पाइएको छ । विज्ञान प्रयोगशाला अन्तर्गतका सामाग्री खरिद गर्दा ५ लाख ६६ हजार ९१ रुपयाँ खर्च भएको देखाइएको छ । सिदार्थ साइन्स पसलबाट विज्ञान प्रयोगशालाका लागि सामाग्री खरिद गरिएको थियो ।

सामाग्री खरिद गरे बाफत सिद्धार्थ साइन्सले विद्यालयलाई १ लाख २० हजार पाँच सय छुट गरेको थियो । उक्त रकम प्र.अ. जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर कुवरको खातामा हालेका थिए ।

यसबारे अध्यक्ष दानबहादुरसँग बुँझ्दा, उनले आफूले १५ हजारमात्र राखेको र ५० हजार विद्यालयको काममा खर्च भएको बताएका छन् । त्यस्तै बचेको रकम सबै प्र.अ. जोशीले कोल्याप्स हानेको बताए । उनले प्र.अ. जोशीले विद्यालयको आर्थिक कारोबारमा सधै मनपरि गर्दै पैसामा चलखेल गर्ने गरेको खुलासा गरे ।

काठमाण्डुपाटीसँगको कुराकानीमा उनले भने, ‘विद्यालयको खातामा एक रुपयाँ पनि छैन । पहिला देखिनै जोशी सरले पैसा खानुभएकाे कुरा सत्य हो । भैपरि आउने खर्चको नाममा पैसा खानु भएको छ । अब आर्थिक कारोबारमा उहाँकै हात भएकाले हाम्रो केही लाग्दैँन । विज्ञान प्रयोगशाला अन्तर्गतको १ लाख २० हजार ५ सय मेरो खातामा थियो। त्यसपछि ५० हजार खर्च भयो । बाँकी ७० हजारमा मैले १५ हजार राखेको हुँ । बाँकी रकम जोशी सरले नै कोल्याप्स हान्नु भएको हो । त्यतिबेला हामी दुईबीच जोगबुढा बैँकमासमेत लफडा भएको थियो । सर यो पैसा हामिले बिद्यालयमा बुझाउनुपर्छ भन्दाखेरि मसँग झगडा गर्नुभयो । मैले जवरजस्ती ५० हजार चाहीँ विद्यालयको काममा लगाए। तर, बाँकी रकम दुबैले मिलाउनु पर्छ भन्दै उहाँले कोल्याप्स हान्नुभयो । म ठोकुवाका साथ भन्छु,पैसा कोल्याप्स हान्ने जोशी सर नै हुन्’

यसबारे प्र.अ. जोशीसँग बुझ्दाखेरि उनले १ लाख २० हजारको बारेमा केही थाहा नभएको बताउँदै आफूले पैसा नखाएको जिकिर गरे । विद्यालयको प्र.अ. भएकाले १ लाख २० हजार पाँच सयकाे बारेमा तपाईँलाई थाहा हुनुपर्छ । विद्यालयको पैसा किन खानुभयो ?, पैसा नखाएकोे भए त्याे पैसा कता छ ? भन्ने प्रश्नमा जोशीले आफ्नो बचाउ गर्दै भने,‘मलाई त्यो रकमको बारेमा केही थाहा छैन । बाँकी रकम पनि खाएको छैन । यदि खाएको भए मलाई कारबाही गर्नुहोस् ।’

त्यस्तै अस्थायी शिक्षक नियुक्तिका लागि नगरपालिकाबाट पशुपति आधारभुत विद्यालयका लागि दुई कोटा छुट्याएको थियो । जसअनुसार शिक्षक नियुक्ती गर्दा पहिलो पटक ३९ हजार र दोस्रो कोटा अन्तर्गत शिक्षक नियुक्ति गर्दा ३७ हजार खर्च भएको देखाइएको छ । शिक्षक नियुक्ती गर्दा पनि प्र.अ.जोशीले रकम हिनामिना गरेको स्रोतको दावी छ ।

सरकारले शिक्षक नियुक्त निशुल्क गर्नुपर्छ भनेको छ । तर, कानुन विपरित शिक्षक नियुक्तीको नाममा खुलेआम पैसा खाइरहेका छन् । त्यस्तै इमिस पनि ६ हजार खर्च भएको देखाएको छ । तर, इमिस इन्ट्री सामान्य रुपमा पनि गर्न सकीन्छ ।

प्र.अ.जोशीले यसभन्दा अघि पनि बदमासी गरेका थिए । जोशीले गत भाद्र १४ गतेबाट २१ गते सम्म आफूखुसी विद्यालयमा बिदा दिएका थिए ।  भाद्र १६ गते सम्मको हाजिर १४ गते नै लगाएर विदामा बसेका थिए ।

यो पनि पढ्नुहोस्