पर्वेज मुसर्रफ : पटक–पटक मृत्युसँग साक्षात्कार गरेका जनरल


मोहन थापा, सुबेदार

काठमाडौं  – १ पुष २०७६ अर्थात १८ डिसेम्बर २०१९ का दिन बीबीसी अन्तर्राष्ट्रिय समाचारबाट सार्वजनिक भयो । पाकिस्तानको लाहौर उच्च अदालतका मूख्य न्यायाधीस वकार अहमद सेठसहित ३ न्यायाधीसको बेन्चले पाकिस्तानका पूर्वप्रधानसेनापति तथा पूर्वराष्ट्रपति जनरल पर्वेज मुसर्रफलाई संविधानकोे अबहेलना तथा गम्भिर देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय हुने फैसला गरेको छ ।

पर्वेज मुसर्रफ : मृत्युसँगका घटना

११ अगष्ट सन् १९४३ मा हालको भारतको राजधानी नयाँ दिल्लीस्थित पुरानो मुगल इलाकामा जन्मिएका पर्वेज मुसर्रफ १८ वर्षको छँदा आँपको रुखबाट लडेर बेहोस भएका थिए । साथीभाइ र परिवारका सदस्यले उनी मरिसकेको ठाने । तर पर्वेज बेहोस मात्र भएका थिए । उनी बाँचे ।

पर्वेज भन्छन् : भारत पाक स्वतन्त्रताको दिनमा चर्किएको हिन्दु मुस्लिम दङ्गामा रेलका डिब्बाभरि मानिसका सब हुन्थे । १४ अगष्ट सन १९४७ को दिन मेरो परिवारसँग म जीवन हत्केलामा राखेर दिल्लीबाट कराँचीका लागि रेल चढेको थिएँ । अल्लाहलाई सुम्पिएको थिएँ जीवन । सकुसल कराँची पुगेर लामो सास फेरेँ । अर्थात बाँचे ।

सन् १९६१ मा पर्वेज पाकिस्तानको मिलिट्रि एकेडेमीमा प्रबेश गरे । सफलताकासाथ तालीम पुरा गरे र सेनामा पदोन्नत हुंदै गए । सन् १९६५ मा पर्वेज मुसर्रफ लेफ्टिनेण्ट पदमा थिए । भारत पाकिस्तानबीच युद्ध भयो । उनी लाहौर नजिक चंगामंगा जङ्गल इलाकामा खट्टिए ।

१७ दिन चलेको सो युद्धमा ज्यान माया मारेर लडे पर्वेज मुसर्रफ र बहादुरीको पदक पाए । यसपटक पनि मृत्युको मुखबाट बच्न सफल भए मुसर्रफ । यहि लडाइपछि मुसर्रफ सेनाको कप्तान पदमा बढुवा भए ।

सन् १९७१ को नोभेम्बर २१ मा भारत र पाकिस्तानबीच पुन युद्ध भयो । सो युद्धमा पर्वेज मुसर्रफ स्पेशल सर्भिस ग्रुप एससीजीको नयाँ कम्पनी कमाण्डर बने र चेरात र पन्जाव प्रान्तमा खट्टिए । यसपटकको युद्धमा पनि पर्वेज मुसर्रफ बाँच्न सफल भए ।

सन् १९७२ मा उनी मेजर पदमा थिए । पाकिस्तानी सेनाको एउटा कम्पनी कमाण्डर थिए । कास्मीरको हिमालय इलाकामा खट्टिएका बेला अधिक हिमपातबाट सहकर्मी केहि सैनिक पोष्टमै मरे । उद्धारका लागि हेलिकोप्टरमा गएर फर्कदाँ उक्त हेलिकोप्टरले मृतक सैनिकको सवसहित उनी र सहकर्मी सैनिकलाई बोक्न खोज्दा वजन बढी भएको संकेत गर्यो । उनी ओर्लिए । अत्यधिक चिसो त छंदैछ सुरक्षाका दृष्टिले पनि उच्च जोखिम भएको गिलगिट पोष्टमा बसे उनी । दैवको संयोग हो वा के ?

गिलगिटबाट इस्लामावादका लागि उडेको उक्त हेलिकोप्टर आजसम्म पत्तो छैन । बेपत्ता वा सम्भावित मृत्युबाट बाँचे पर्वेज मुसर्रफ । पाकिस्तान सन् १९४७ मा स्थापना त भयो तर यसले पटकपटक भारतसँग अस्तित्वको युद्ध लड्न पर्यो । पाकिस्तानले आफ्नो अस्तित्वरक्षार्थ लडेका युद्धमा पाक सेनाले अतुलनीय वीरता प्रदर्शन गर्दै आएको छ । युद्धमा हारजित हुनु बेग्लै कुरा हो ।

पाक सेनाले भारतीय सेनासँग थुप्रै मोर्चामा रणनीतिक युद्ध जितेको छ । भारतीय मूलका सैनिकको सातो उडाएको छ । १ इन्च भूमि डगमडाउन दिएको छैन । भारतले आपूm गाभ्न नसकेर बंगलादेश जन्मायो पाकिस्तानको बिद्रोहीलाई तालिम र हतियार दिएर युद्धमा सघायो । त्यो भूमि आफुमा गाभ्ने हिम्मत गरेन । साँच्चै भन्नुपर्दा सिख र नेपाली (गोर्खाली) भारतीय सेनामा नहुने हो वा थिएनन भने आज भारतको नक्सा अर्कै हुने थियो ।

पाकिस्तानबाट बंगलादेश जन्मनुमा तत्कालीन पाकिस्तानका राष्ट्रपति याह्या खाँ र प्रधानमन्त्री जुल्फीकर अली भुट्टो को त्रुटी हो । उनीहरुको सत्तामोह हो । पाक राजनेताको गल्ती सुधार्न पटकपटक पाक सेनाले बलीदानी गरेको छ । युद्धमा होमीएको छ । देशलाई सही गोरेटोमा ल्याउन पाक सैनिक नै बली चढेका छन् । विश्वमा अलग, स्वतन्त्र, स्वाधीन पाकिस्तानको अस्तित्वका लागि पाक सेनाको योगदान अतुलनीय छ । पाकिस्तानले लडेका हरेक युद्धमा पर्वेज मुसर्रफ लडेका छन् । भाग लिएका छन् ।

नेपालमा सैयौं वर्षदेखि सेना छ । नेपालको सेनामाथि पुर्खाको बिरासत र ४०० बर्षको भजन गाएर, सात पुस्तालाई पुग्ने धन आर्जन गरेर, देशको बजेट दुरुपयोग गरेको, सैनिक सहकर्मीलाई घरभरि अर्दली राखेर मोजमस्तिमा रमाएको तर सेनालाई समयसापक्ष आधुनिकीकरण गर्न, सीमा सुरक्षामा ध्यान दिननसकेको आरोप छ । पाकिस्तानी सेना उपरोक्त आरोपबाट मुक्त छ ।

तुलनात्मकरुपमा पाकिस्तानी सेना दक्षिणएशियामा आधुनिक र चुस्त छ । आणविक हतियारबाट सुसज्जित छ । रणनीति तय गर्नमा माहिर छ । पाक सेनालाई चुस्त दुरुस्त राख्नमा पर्वेज मुसर्रफको पनि भारी योगदान छ ।

पर्वेज मुसर्रफ लेफ्टिनेण्ट पदमा रहेदेखि नै पाक सेनामा उज्याला ताराका रुपमा उदाएका थिए । उनीबिरुद्ध सेनाभित्र र वाहिर उत्तिकै बिरोधीहरु थिए । सैनिक क्यारियर ध्वस्त बनाइदिन, भौतिक शरीर सिध्याइदिन, एकथरि सैनिक अधिकारीहरु दत्त्तचित्त थिए । उनी डगमगाएनन् । भारतसँगका युद्धबाहेक पर्वेज मुसर्रफ अन्य कतिपय सम्भावित मृत्युसँग पौंठाजोरी खेलेर बाँच्न सफल भए । यस्ता दृष्टान्त धेरै छन् । तीमध्ये केहि यस्ता छन् ।

पर्वेज मुसर्रफलाई पाकिस्तानका तत्कालीन सैनिक शासक जनरल जियाउल हकको सैनिकसचिब छानिएको थियो । जनरल हकसँग १७ अगष्ट १९८८ मा पर्वेज पनि जियाउल हकको नीजि विमानमा चढेर भावलपुर जानुपर्ने थियो । तर सेनाप्रमुखको बिशेष सिफारिसमा पर्वेज मुसर्रफको स्थानमा अर्का बृगेडियर जनरल नाजिवलाई खटाइयो । सी–१३० विमान भावलपुरमा दुर्घटनामा पर्यो र विमानमा सवार सबैको मृत्यु भयो । यसपटक पनि पर्वेज मुसर्रफ बाँच्न सके ।

सन् १९८८ मा पर्वेज मुसर्रफ लेफ्टिनेण्ट जनरल पदमा थिए । एकदिन उनी रावलपिण्डिमा सैनिक कामका लागि गएका थिए । काम सकिएर फर्कन खोज्दा केहिसमय सैनिक मित्रसँग हकी खेल्न मनलाग्यो र मैदानमा गए । त्यसैबेला उनको व्यारेक माङला जानको लागि सैनिक हेलिकोप्टरका चालक पर्वेजलाई कुरिरहेका थिए ।

पर्वेज खेलमा यति मग्न भएकी, उनी घण्टौं लामो दुरीको बाटो मोटरगाडीमा जाने तर खेल सकेपछि मात्र जाने हुँदा हेलिकोप्टर चालकलाई जान आदेश दिए । हेलिकोप्टर छाडेर खेलेको उनका लागि फाइदा भयो । किनकि त्यो हेलिकोप्टर आकासमै पड्कियो र त्यसमा सवार सबै सैनिक मरे । पर्वेज बाँच्न सके । मृत्युले उनलाई यसपटक पनि माफ गरिदियो ।

१२ अक्टोवर सन् १९९९ । पर्वेज मुसर्रफ पाक सेनाको प्रधानसेनापति थिए । कोलम्बोबाट पाकिस्तान फर्कदै गरेको उनी सवार हवाइजहाज कराँची विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर तत्कालीन प्रधानमन्त्री नवाज सरिफले पर्वेज मुसर्रफ सवार उक्त विमान पाकिस्तानभर अवतरण गर्न नदिन उर्दी जारी गरिदिए । १९८ यात्रु सवार उक्त विमान केहि मिनेटभित्र अवतरण नगरेमा इन्धन सकिएर दुर्घटना हुने निश्चित थियो । विमानस्थलको रन–वे मा प्रधानमन्त्रीको आदेशमा ठुला ट्रकहरु तेस्र्याएर अवरोध गरिएको थियो । पर्वेज मुसर्रफ आकासमा हुँदै पाक सेनाले विद्रोह गर्यो ।

विमानस्थल कव्जा गर्यो र आकासमा उडिरहेको विमानलाई अवतरण गरायो । पर्वेज मुसर्रफ सकुशल विमानस्थलमा ओर्लिए । उनको आदेशमा पाक सेनाबाट प्रधानमन्त्री नवाज सरिफ नजरबन्द गरिए । यहि घटनाले नै पर्वेज मुसर्रफलाई पाकिस्तानको सत्ता निर्वाचित सरकारको हातबाट सेना प्रमुखका हैसियतले आफ्नो हातमा लिने अवसर जुराइदियो । पर्वेज मुसर्रफलाई इस्लामिक आतङ्ककारीले पनि उत्तिकै निशाना बनाएका थिए ।

१४ डिसेम्बर सन् २००३ । पर्वेज मुसर्रफ पाकिस्तानका राष्ट्रपति र सेनाप्रमुख । हवाइजहाजबाट इस्लामाबाद विमानस्थलमा ओर्लेर निवास जांदै गर्दा धार्मिक अतिवादीहरुले प्रहार गरेको शक्तिशाली विष्फोटक पदार्थ पड्केर उनी सवार कार करिब ७ मिटर जमिनमाथि उफ्रेर जमिनमै बजारियो ।

बुलेटप्रुफ र बिशेष सुरक्षित कार हुनाले उनलाई साधारण चोट मात्र लाग्यो । यसपटक पनि उनी बाँचे । कुनै मानवीय क्षति भएन ।
यतिधेरै मृत्युका घटनासँग साक्षात्कार भएका जनरल पर्वेज मुसर्रफलाई यहि पुष १ गते लाहौर उच्च अदालतले मृत्युदण्डको सजाँय सुनाएको छ । हाल उनी दुबइमा उपचाररत छन् ।

पर्वेज मुसर्रफको सत्तायात्रा

सन् १९९९ मा परिस्थितिवस रक्तपातविहीन सैनिक कु मार्फत पाकिस्तानको सत्ता हात लिएका पर्वेज मुसर्रफले आफुलाई सन् २००१ को जुनमा राष्ट्रपति घोषणा गरेका थिए । त्यसपछि उनले सन् २००२ मा एक जनमतसंग्रह गराए र त्यसबाट आफू पाँच वर्षका लागि राष्ट्रपति भएको जनअनुमोदन गराए । भलै उक्त जनमत संग्रहलाई पछि सर्वाेच्च अदालतले चुनौति दियो ।  पर्वेज मुसर्रफले सन् २००७ नोभेम्बर ३ मा देशमा संकटकाल घोषणा गरे । उनले सन् २००८ अगष्टमा राष्ट्रपतिबाट राजिनामा दिए ।

अदालतमा मुसर्रफ

सन् २००८ को निर्वाचनमा पहिलो र दोस्रो स्थानमा चुनाव जितेका राजनीतिक दल पाकिस्तान पीपुल्स पार्टी र मुस्लीम लिगले उनीबिरुद्ध महाभियोग लगाउने निर्णय गरेका थिए । तर यो प्रक्रिया अघि बढाइएको थिएन । सन् २०१३ मा पाकिस्तान मुस्लीम लिग सत्तामा आएपछि नवाज सरिफले पर्वेजबिरुद्ध संविधानको अबहेलना गरेको भनी अदालतमा मुद्धा दायर गरे । इस्लामावादको बिशेष न्यायालयले २१ मार्च सन् २०१४ मा उनलाई देशद्रोहको एक मामलामा अभियुक्त बनाएको थियो ।

पाकिस्तानको उक्त बिशेष न्यायालय राजनीतिक पूर्वाग्रहबाट गठन गरिएको हो । त्यसै अदालतको फैसलामा टेकेर अहिलेको आदेश भएको हो । हाल उनीबिरुद्ध मृत्युदण्डको फैसला गर्ने लाहौर उच्च न्यायालयले उनका पक्षका वकीलहरुको राय सुनेको छैन । पर्वेज मुसर्रफलाई आफ्ना कुरा अदालतसमक्ष राख्ने मौका समेत दिइएको छैन । तसर्थ पर्वेज मुसर्रफमाथि राजनीतिक पुर्वाग्रह राखेर फैसला गरिएकोमा जानकारहरु प्रष्ट छन । आज पाकिस्तानमा मात्र नभएर विश्वका धेरै देशमा फैसला गर्ने न्यायाधीसको ‘नीच’ स्तरका बारेमा चर्चा बढ्दो छ, यसतर्फ यहाँ भने धेरै चर्चा नगरौं ।

सेनाको प्रतिक्रिया

यसबीच पाकिस्तानी सेनाले मुसर्रफबिरुद्ध अदालतको फैसलाप्रति आपत्ति जनाएको छ । अदालतको फैसलाले अनगिन्ति पीडा र वेदना दिएको पाकिस्तानी सेनाका प्रवक्ताले जनाएका छन् ।

सेनाको भनाइ छ ः पाकिस्तानी सेनाका पूर्व सेनापति, चिफ अफ स्टाफ र पाकिस्तानका पूर्वराष्ट्रपति, जसले ४० वर्ष देशको सेवा गरे, युद्ध लडे, उनी कहिल्यै देशद्रोही बन्न सक्दैनन् । पाकिस्तानको संविधान अनुसार न्याय हुने सेनाको अपेक्षा छ ।

यदि संविधानको गलत अर्थ लगाएर देश र सेनाका सम्मानित व्यक्तित्वमाथि प्रतिसोध लिने निर्णय हुन्छ भने त्यसकिसिमको संबिधानको सम्मान र पालना गर्नमा सेना वाध्य हुनेछैन भन्ने संकेत पनि हुनसक्छ, यो भनाई ।

पाकिस्तानको ७२ वर्षको इतिहासमा सेनाप्रमुख र राष्ट्रप्रमुखलाई मृत्युदण्डको सजाँय सुनाइएको यो पहिलो घटना हो । सातदशक लामो यात्रा तय गरेतापनि पाकिस्तानका सामु देशभित्र र अन्तर्राष्ट्रियस्तरमा आजपनि धेरै चुनौति छन् । चीनको भरथेग र सेनाको देशभक्तिप्रतिको निष्ठाबाट नै आज पाकिस्तान उभिन सकेको छ ।

यस्तो अवस्थामा सैनिक रणनीतिका ज्ञाता, युद्धका नायक, पूर्वसेनाप्रमुख, पूर्वराष्ट्रप्रमुख माथिको मृत्युदण्डको सजां“यले पाकिस्तानको संवैधानिक निकायको एक अङ्ग पाकिस्तानलाई पुनः अस्थितरतातिर धकेल्न प्रयासरत रहेको हो कि भनेर सहज अनुमान गर्न सकिन्छ । पाकिस्तानीबीच बिभाजन ल्याउन, सेना र सरकार तथा न्यायालयबीच दुरी बढाउन यस फैसला पर्याप्त छ ।

म आफु पनि सैनिक हुँ । मलाई विश्वका जुनसुकै देशका राष्ट्रिय सेनाका सिपाहीदेखि जनरलसम्मका सैनिक सहकर्मीझैं लाग्छन । मेरो मनले भन्छ ः पराक्रमी, साहसी र देशभक्त सैनिकका लागि मृत्यु र मृत्युदण्डको सन्दर्भ प्लाष्टिकको रिलमा बेरिएर घुमिरहने चक्र हो । जुन रिल भित्रका दृष्यहरु पटकपटक दोहोरिएर काँचका पर्दामा प्रकट हुन्छन र उसैगरी अदृष्य बन्दछन् ।

पाकिस्तानले वकार अहमद सेठ जस्ता न्यायाधीस हज्जारौं जन्माउन सक्दछ तर आजसम्म अर्काे पर्वेज मुसर्रफ जन्माउन सकेको छैन र सक्दैन । जसले विश्वशक्ति भारतको मुटु हल्लाइदिएको छ । पाकिस्तानको जन्म भएदेखि आजसम्मका हरेक युद्दमा सहभागि भएको छ । नेतृत्व गरेको छ । यस्ता जनरलमाथि देशद्रोहको मुद्दा लगाइनु त्यस देशको दुर्गति निम्त्याइनु हो । अवनतीको मार्ग अझ फराकिलो तुल्याउनु हो ।

पर्वेज मुसर्रफ मानिस हुन् । उनका सकारात्मक र नकारात्मक पक्षबारे वहष गर्न सकिन्छ । सैनिक शासक भएकैले र युद्ध लडेकाले उनका सबै कर्तुत क्षमायोग्य छन् भन्ने पंक्तिकारको आसय होइन । तर उनी सैनिक भएकैले राजनीतिक र न्यायिक वृत्तले पूर्वाग्रह राखेर प्रतिसोध लिने प्रयास गरेको सत्य भने छर्लङ्ग छ । यी सत्यका बाबजुद, आज उनी जिवित भएपनि इतिहास हुन् ।

जनरल पर्वेज मुसर्रफ पाकिस्तानका मात्र होइनन्, संसारका सैनिकका आदर्श हुन् । संसारभरिका सैनिकले गौरव गर्न लायक सैनिक हुन् । उनको सैनिक जीवन, युद्द अनुभव, राजकीय अनुभुतिका बारेमा विश्वका सैनिकहरु अध्ययन गर्न उत्सुक छन् । भोलीका सैनिकका लागि उनी अध्ययन गरिनुपर्ने सैनिक व्यक्तित्व हुन् ।

साँच्चै भन्नुपर्दा मोहम्मद अली जिन्नाले इस्लामिक राष्ट्र पाकिस्तान जन्माए । त्यो पाकिस्तानको प्राण भर्नमा पर्वेज मुसर्रफले आफ्नो जीवन समर्पण गरे । पटकपटक मृत्युसँग साक्षात्कार गरे । आसा गरौं जनरल पर्वेज मुसर्रफलाई यसपटक पनि मृत्युले माफ गर्नेछ । गरोस् । मेरो विश्वास छ : यदि यसो भएमा विश्वका सैनिकहरु खुसी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement