अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । आर्थिक वर्ष २०८२/८३ मा उक्त मार्गमा भ्रमणका लागि निस्किएका १२ जना नेपाली, नौ जना भारतीय र जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका क्रमशः एक एक जना गरी २५ व्यक्तिको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

मुस्ताङमा १५, मनाङमा ८, अन्नपूर्ण आधार शिविरमा एक र मर्दी हिमालमा एक जनाको मृत्यु भएको हो । मृत्यु भएका नेपालीमध्ये चार जना पथप्रदर्शक र भरिया रहेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए ।

पदत्रायाका क्रममा लडेर र अन्य दुर्घटनाका कारण सोही अवधिमा ५ जना पर्यटकले ज्यान गुमाएका छन् । भारतीय पर्यटकको मनाङको पदयात्राका क्रममा भारी हिमपात हुँदा मृत्यु भएको थियो । एक जना अष्ट्रेलियन पर्यटकको मनाङको हिमलुङ हिमाल चढेर फर्कने क्रममा ज्यान गएको हो । मर्दी हिमालको पदयात्राका क्रममा एक जना नेपाली पदयात्री र जर्मनी नागरिकको म्याग्दीको खोप्रा लेकमा पदयात्राका क्रममा मुत्यु भएको थियो ।

लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेका छन् । आव ०८०/८१ मा २१ र आव ०८१/०८२ मा १९ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो ।

सडकमार्ग भएर मुक्तिनाथ दर्शनका लागि जाने नेपाली र भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको आयोजना प्रमुख डा. कडरियाले बताए ।

पदयात्रामा लडेर मृत्यु हुने गरेका घटना बर्सेनि दोहोरिने गरेका छन् । लामो दूरीको पदयात्रामा निस्कँदा एक्लै नगई समूहमा या पथप्रदर्शक लिएर जानुपर्छ ।

कम उचाइ भएको ठाउँबाट गाडीमा एकैपटकमा मुक्तिनाथलगायत उच्च भेगमा पुग्दा लेक लाग्ने समस्या देखिने गरेको छ । स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको पथप्रदर्शक दिवस गुरुङले बताए ।

पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा ५०० भन्दाबढीको उचाइ पार नगर्न सुझाव दिए ।