पशुपति धर्मशाला सञ्चालन गर्न महानगर र कोषबीच सहमति पत्रमा हस्ताक्षर

पशुपति धर्मशाला सञ्चालन गर्न महानगर र कोषबीच सहमति पत्रमा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पशुपति गौशाला सञ्चालन र व्यवस्थापन गर्न काठमाण्डु महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

असोज २० गते बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को निर्णय र मंगलबार बसेको काठमाण्डु महानगरपालिका नगर कार्यपालिकाको निर्णय कार्यान्वयनमा लैजान सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने, ‘यस्ता सार्वजनिक महत्त्वका स्थानको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनमा सबैको दायित्व हुने भएकाले महानगरपालिकाले यसको अभिभावकत्व ग्रहण गरेको हो ।’

सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले भने, ‘धर्मशाला मन्दिर हो, सम्पत्ति कोषको हो । सार्वजनिक सम्पत्तिमा सबैको समान पहुँच बनाउनु सहमतिको उद्देश्य हो ।’

कोषका कार्यकारी निर्देशक जोशीले भने, ‘सहमति पत्रमा हस्ताक्षर हुनुलाई सुखद क्षणका रुपमा लिएका छौं । महानगरपालिकासँगको सहकार्य बढाउँदै लैजानेछौं ।’

पशुपति गौशाला महानगरपालिका–८ मा पर्छ । कोषको स्वामित्वमा रहेको घरजग्गामा महानगरपालिकाले गौशाला, धर्मशाला तथा सामाजिक धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्नेछ ।

गैरनाफामूलक सेवाअन्तर्गत गौशाला सञ्चालन, श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्न दान स्वीकार गर्ने तथा आवास सेवा, निःशुल्क शौचालय सहितको सेवा सञ्चालन गरिनेछन् । यसका लागि वडा नम्बर ८ का अध्यक्ष आशामान संगतको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

समितिमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख, कोषले तोकेको प्रतिनिधि २ जना र महानगरपालिकाका प्रमुखले तोकेका १ जना प्रतिनिधि सदस्य रहनेछन् ।