नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छौंः अध्यक्ष जबरा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले उपनिर्वाचनको परीणामले सरकारविरुद्ध जनमत प्रकट भएको स्पष्ट पारे ।

उनले भने,‘समग्रमा यो उपनिर्वाचनमा नेकपाविरुद्ध जनमत प्रकट भएको देखियो । उसले भक्तपुर र धरानमा दुई महत्वपूर्ण सिट हार्यो । पोखरा र बाग्लुङमा उसको स्थिर नतिजा आयो । धरान र भक्तपुरमा चाहीँ सरकारविरुद्ध जनमत आएको हो ।’सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले सरकारले दुई तिहाई बहुमतको अवसरलाई खेर फालेको पनि आरोप लगाए ।

उनले भने,‘यो सरकार बनेको झण्डै दुई वर्ष भयो । तर, यसलाई यो अवधिमा तौलने हो भने राजनीतिक रुपमा सफल भएको छ । तर, विकास र समृद्धिको हिसाबमा असफल भएको छ । वर्तमान प्रधानमन्त्री ओलीजी पनि राजनीतिक रुपमा सफल हो । तर, विकास र समृद्धिको हिसाबमा असफल हुनुभयो । उहाँले दुई तिहाई बहुमत खेर फाल्नुभयो । उहाँले ऐतिहासिक मौकाको सदुपयोग गर्न सक्नुभएन् ।’ सरकार विकास र प्रशासनिक रुपमा पुरै असफल भएको उनको आरोप छ ।

जबराले मुलुकलाई हिन्दूराष्ट्रको रुपमा पूर्नस्थापित गर्नको लागि देशव्यापी रुपमा सही छाप (हस्ताक्षर) गर्ने आफूहरुको तयारी रहेको पनि सुनाए । उनले भने,‘देशभरि हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाउँछौं ।’

उनले नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्ने आफूहरुको अठोट रहेको सुनाए । उनले भने,‘यो मुलुकलाई हिन्दूराष्ट्र बनाएरै छोड्छौं । यो अभियानमा हामी सम्पन्न गर्छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement