उपचार र सावधानीको उपाय नभएर क्वारेन्टाइन मान्छे थुन्ने थलो भयो :अध्यक्ष राणा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले भद्रगोल र अव्यवस्थाका कारण क्वारेन्टाइन मान्छे थुन्ने थलो र रोग सार्ने माध्यम बन्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘पिउने पानी, खानेबस्ने, सुत्ने र शौचालयसम्म नभएका क्वारेन्टाइनहरू अस्तव्यस्त छन् । कोेठामा भीड कोच्ने गरिएकोले मानिसहरू लुकेर घर सुत्न जान्छन् । यस्तो भद्रगोलले क्वारेन्टाइनमै रोग सर्ने चिन्ता बढेको छ,’ अध्यक्ष राणाले मंगलबार भने ।

कोरोना महामारी सरकारको प्राथमिकतामा नपरेको, आवश्यक तयारी नगरेको भन्दै राणाले सरकारको आलोचना गरेका छन् । ‘उपचार र सावधानीको उपाय नभएर क्वारेन्टाइन मान्छे थुन्ने थलो, संक्रमणको माध्यम बन्ने जोखिम बढेको छ । झन्डै दुई महिना बन्दाबन्दीका बाबजुद पूर्वतयारी, नीतिगत हस्तक्षेप भएन । क्वारेन्टाइनको बेहाल त्यसैको प्रमाण हो,’ उनले ट्वीट गर्दै भने ।

‘सरकार नीति तथा कार्यक्रमको बिगूल फुक्दैछ, मधेसका क्वारेन्टाइनमा जनता ज्यान गुमाउदैछ,’ सरकारलाई चुनौती दिँदै राणाले भने । ‘सरकार पहिले महामारी प्राथमिकतामा राख, अनिमात्र नीति कार्यक्रमको डिंग हाँक ।’ लिम्पियाधुरा समेटेर नक्सा प्रकाशन गर्ने मन्त्रिपरिषद्को पछिल्लो निर्णयलाई भोगचलनको तहसम्म उपलब्धिमूलक बनाउनु पर्ने भन्दै पार्टीगत अडान उनले प्रष्ट पारे ।

‘लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको अभिवाज्य भूमि हो । यसमा विद्यमान राष्ट्रिय सहमति कै बलमा नयाँ नक्सा जारी गर्ने निर्णय सकारात्मक छ,’ उनले भने । ‘अब कुटनीतिक पहल निरन्तर राखेर नीतिसम्मत निर्णयलाई व्यवहार र भोगचलनको तहमा उपलब्धिमूलक बनाउनु परेको छ । राप्रपा यसको पक्षपाती छ,’ राणाले जोड दिँदै भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement