पशुपतिको सम्पत्तिमा रजाइँ

पशुपतिको सम्पत्तिमा रजाइँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कुनै समय थियो, दानदक्षिणा गरे धर्म कमाइन्छ। धर्म कमाउनकै लागि पितापुर्खाले जग्गाजमिनसमेत मठमन्दिर र जात्रापर्वका लागि छुट्याइदिए। कसैले सरकार (गुठी संस्थान) लाई जिम्मा दिए, कसैले निजी गुठी बनाएर सञ्चालन गर्न नयाँ पुस्तालाई दिए। कसैले चाँदी, तामा, पित्तल आदि दान दिए। हुनेखानेले सुन नै चढाइदिए।

समयले कोल्टे फेर्दै गयो। जग्गाको भाउ अकासिँदै गयो। आनाकै लाखौंरकरोड पर्न थालेपछि अर्काथरी मान्छेको सोच फरक हुन थाल्यो। उनीहरू धमाधम ती गुठीमा रहेका जग्गा आफ्नो नाममा बनाउन थाले। आफ्नो बनाउन नसक्नेले सोझासाझालाई सस्तोमा बेचेर कमाउन थाले।

हजारौं बिघा÷रोपनी जग्गाको धनी पशुपतिनाथ क्रमशः खोक्रिँदै गयो। विश्वकै हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको एकातिर महत्व दिनानुदिन बढ्दैछ भने अर्कोतिर पशुपतिनाथको चलअचल सम्पत्ति हत्याउने क्रमसँगै विश्व सम्पदामा सूचीकृत भएर पनि अस्तित्व जोगाउन हम्मेहम्मे पर्न थालेको छ।

स्कन्द पुराणको हिमवत्खण्डमा प्रलयकालमा ब्रह्मा र विष्णुबीच को ठूलो भन्ने विषयमा विवाद हुँदा ती दुईको घमण्ड तोड्न भगवान् शिवले तेजोमय लिंगको रूप लिएको र सोही ज्योतिर्लिंग नै धेरै कालको अन्तरालपछि पञ्चवक्त्र पशुपतिका रूपमा प्रकट भएको कथा पाइन्छ। उतिबेला यसरी पशुपतिको चलअचल सम्पत्ति नाश गर्ने भन्ने कुरो कल्पना बाहिरको थियो।

मन्दिर व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष स्थापना गर्नुपर्छ भन्ने सोच २०४३ सालमा मात्र आएको देखिन्छ। त्यसअघिदेखि नै पशुपतिका नाममा रहेका जग्गा र चढाइएका सुनचाँदीमा आँखा लगाउन थालिसकेको अभिलेखले देखाएको छ। कोष बने पनि त्यतिबेला हराएका जग्गा, सुन र सम्पत्ति खोजी गर्ने काम कसैले गरेन। पछिल्लो दुई दशकमा यो महसुस भयो, छानबिन समिति गठन गरिए तर तिनले काम गरेनन्। यसका पछाडि यस्तै भूमाफिया र तिनका संरक्षक राजनीतिक नेता साथै सरोकारवालाको दबाबसँगै समितिमै बस्ने कतिपयको स्वार्थ बाझिएको कोषका कर्मचारीको बुझाइ छ। यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।