अख्तियारका सदस्य पाठकविरुद्ध महाअभियोग लगाउने तयारी


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियोगको प्रस्ताव अघि बढाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि संसदिय दलका उपनेता सुवास नेम्वाङले सांसदहरुसंग छलफल गर्नुका साथै महाअभियोग दर्ताका लागी संसद सचिवालयका कर्मचारीसंग परामर्श गरेका छन् । पाठकविरुद्ध विहिवार नै महाअभियोग दर्ता गर्ने नेकपाको तयारी छ ।

संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारीले गलत आचरण गरेमा संसदले महाअभियोग लगाउन सक्ने व्यवस्था नेपालको संविधान २०७२ ले गरेको छ। संविधानका धारा १०१ को उपधारा दुईमा प्रतिनिधिसभामा एक चौथाइ सांसदले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरे सो व्यक्ति निलम्बनमा पर्छ।

तर, प्रस्ताव पारित गराउन दुई तिहाइ बहुमत आवश्यक पर्छ। अहिले सरकारमा रहेका नेकपा र संघीय समाजवादी फोरमसँग संसदमा दुई तिहाई मत छ।

अख्तियारका आयुक्त पाठकले स्वामित्व विवाद रहेको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैया घुस लिएको खुलासा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement