पठाओको ट्याक्सी सेवाले भाडामा हुने लुट नियन्त्रणदेखि प्रविधिको सदुपयोग


काठमाडौं – आवतजावतका लागि मान्छेलाई चाहिने साधनमध्ये ट्याक्सी सेवा काठमाडौंमा प्रचलनमा रहेको साधन हो । सार्वजनिक सवारीसाधनको सहज उपलब्धता नभएका कारण ट्याक्सीको प्रयोग काठमाडौंमा सहजताको साधन रहेको छ ।

ट्याक्सी सेवा सहज भएपनि यसको भाडा भने असहज छ । सरकारले भाडा नियन्त्रण गर्न निश्चित शुल्क तोकेको भएपनि त्यसलाई ट्याक्सी धनी मान्दैनन्, मिटरका आधारमा शुल्क निर्धारण गर्ने गरी सेवा दिन मान्दैनन् ।

सरकारदेखि सेवाग्राहीसम्मका लागि ट्याक्सीको भाडा लुट टाउको दुखाइको विषय बनेको छ । सरकारी संयन्त्रले प्रभावकारी नियमन गर्न नसकिरहेको बेला अब भाडादरलाई सेवाग्राहीमैत्री बनाउने गरी प्रविधिले काम गर्र्ने भएको छ ।

पठाओको एपमार्फत् ट्याक्सी र यात्रु सम्पर्कमा आउने र तोकिएको भाडा मात्रै लिने व्यवस्था कार्यान्वयन हुने देखिएको छ । यसअघि मोटरसाइकलबाट यात्रु ओसार्ने सेवा दिएको पठाओमा तोकिएको भाडादर कार्यान्वयनमा थियो । प्रविधिको प्रयोगसँगै ट्याक्सी चालकलाई यात्रु मिल्ने छन् भने यात्रुले जायज भाडा मात्रै तिर्नुपर्ने छ ।

पठाओले भोलि शुक्रबारदेखि ट्याक्सी सेवा समेत शुरू गर्ने भएको छ । राइड शेयर कम्पनी पठाओका रिजनल डाइरेक्टर अशिममान सिंह बस्न्यातले आगामी शुक्रबारदेखि ट्याक्सी सेवा शुरू गर्न लागिएको बताए । उनका अनुसार हालसम्म १ सय ५० ट्याक्सीले पठाओमा आवद्ध हुनको लागि निवेदन दिइसकेका छन् ।

यसअघि पठाओले मोटरसाइकलबाट सेवा दिँदै आएको थियो । हालसम्म पठाओको एप ५ लाख मोबाइलमा डाउनलोड भइसकेको बस्न्यातले जानकारी दिए । पठाओले सामाजिक सञ्जालमार्फत ग्राहकसँग सेवा सुचारु गर्नको लागि सुझाव मागेको थियो । पठाओका अधिकांश ग्राहकले ट्याक्सी सेवा सुचारु गर्न सुझाव दिएका थिए ।

कुनै औपचारिक प्रणाली बिना सम्पर्क आउने ट्याक्सी चालक र यात्रुबीच भाडादरको विषयमा विवाद समेत हुने गरेको छ । एपमार्फत् दुवै पक्षबीच सम्पर्क हुने भएकाले अब तोकिएको भाडादरमै कारोबार हुने अपेक्षा गरिएको छ । पठाओको ट्याक्सी सेवाको लागि १ सय रुपैयाँ सेवा शुल्क लाग्ने पठाओले जनाएको छ । त्यसपछि यात्रुले नेपाल सरकारले तोकेबमोजिम भाडा तिर्नुपर्ने छ । सेवा शुल्कको पैसा तिरेपछि यात्रुले जुनसुकै ठाउँमा एपमार्फत् ट्याक्सीलाई बोलाउन सक्नेछन् ।

पठाओ सञ्जालमा आवद्ध हुन सार्वजनिक ट्याक्सीले आवश्यक कागजात पठाओलाई बुझाउनुपर्ने हुन्छ । आवद्ध भएपछि पठाओले तालिम समेत दिनेछ । पहिलो चरणमा पठाओमा आवद्ध हुन आएका ट्याक्सी चालकलाई तालिम समेत दिएको छ । पठाओ एपमा गएर ट्याक्सी विकल्प छानेर सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

यात्रुबाट तोकिएकोभन्दा बढी भाडा लिएमा पठाओमै उजुरी गर्न सकिने व्यवस्था समेत छ । कुन यात्रुलाई सेवा दिन कुन ट्याक्सीले स्वीकार गरेको भन्ने रेकर्ड एममा सुरक्षित र त्यो ट्याक्सीको कागजात पठाओसँग हुने भएकाले गडबडी गर्नेलाई सहजै कानूनी दायरामा ल्याउन सकिने जनाइएको छ । यात्रुले सडकमै गएर ट्याक्सी खोज्नु र बोलाउनुभन्दा एपमार्फत् घर वा कार्यालयमै रहेर ट्याक्सीसँग सम्पर्क गर्न सकिने छ ।

नेपालमा पछिल्लो समय राइड शेयर कम्पनी पठाओ निकै चर्चित भएको छ । पठाओको सञ्जालमा थुप्रै युवाले रोजगारी समेत पाइरहेका छन् । सरकारले समेत एपमार्फत हुने व्यवसायलाई संरक्षण दिने गरेको छ । केही महिनाअघि मोटरसाइकलमा यात्रु बोक्ने विषयमा विवाद भएपनि सरकारले युवाको सिर्जनात्मक कामलाई संरक्षण दिनुपर्ने भन्दै कारवाही प्रक्रिया अगाडि बढाएको थिएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement