काठमाण्डु– पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै मुक्कुमलुङ ताङ्सेःप चुम्भोले पुनः आन्दोलन घोषणा गरेको छ । आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनको घोषणा गरेका हुन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा माघ २९ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् ।
घोषणा पत्रमा माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूहको बहिष्कार गर्ने, फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने, काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने, केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने र अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल गर्ने उल्लेख छ ।
आन्दोलनरत पक्षले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने, गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहा गर्नुपर्ने, काफ्लेपाटीमा रहेको सशस्त्र र नेपाल प्रहरीको टोली त्यहाँबाट हटाउनुपर्ने माग राखेका छन् ।
गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबिचको झडपमा दुईजनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको थियो ।
प्रतिक्रिया