थुनामा पठाउने आदेशविरुद्ध पल शाह पुनरावेदनमा जाने


काठमाण्डु – पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेशविरुद्ध अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् ।

पललाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित केही दिनभित्रै उच्च अदालत पोखरामा पुनरावेदनको निवेदन दिने पल शाहका वकिल अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।

तनहुँ अदालतले हिजो बिहीबार पललाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का प्रतिवादी उनका म्यानेजर कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । जोशी भने बिहीबार नै धरौटी बुझाएर रिहा भइसकेका छन् भने उक्त आदेशमा पल शाह पक्ष सन्तुष्ट छैन ।

‘फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम निवेदन लिएर पुनरावेदनमा जाने तयारी गर्दैछौं,’ अधिवक्ता वाग्लेले भने । यसअघि बहसका क्रममा पनि उनीहरुले पीडितको उमेर, पीडितको जाहेरी र शारीरिक परीक्षण गर्दाका कुरा बाझिएको, घटनापछि पनि उनीहरु लामो समयसँगै रहनु जस्ता विषयले बलात्कार नभएको पुष्टि गर्ने जिकिर गरेका थिए ।

पल शाहलाई फसाउन खोजेको अडियोबाट पनि सार्वजनिक भइसकेकाले शाहलाई थुनामै राखेर पुर्पक्षन गर्नुपर्ने अवस्था नरहेको उनी पक्षका कानुन व्यवसायीको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement