धुम्बाराहीमा जनयुद्ध दिवस : सम्मानजनक एकताको भावनामा गतिलो इँटा !


काठमाडौं- फरक–फरक राजनीतिक पृष्ठभूमिबाट राजनीतिको मूलधारमा स्थापित भएका राजनीतिक दल हुन् तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र । दुवै दल प्रतिनिधिसभा निर्वाचनअघि चुनावी गठबन्धन गरेर हाल पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएका छन् ।

पार्टी एकीकरण भएको लामो समयसम्म पनि एकीकरण प्रक्रिया जिल्ला र गाउँ तहसम्म टुंगिन सकेको छैन । त्यसैले एकता सम्बन्धमा पटक–पटक सवाल समेत जन्मिने गरेका छन् ।

एकताको घोषणा गरेर चुनावमा गठबन्धन गरेका दलहरूले चुनावमा राम्रोमा राम्रो नतिजा ल्याउँदा नै एकता अनुमोदन भइसकेको थियो । तर एकताका कतिपय प्राविधिक पाटा टुंग्याउन अझै बाँकी छ । एकता टुंग्याउन विलम्ब भइरहँदा र केही सन्दर्भमा नेतृत्वबीच वैचारिक मतभेद देखिँदा एकता भाँडिने प्रचारबाजी हुने गरेको छ ।

‘जनयुद्ध दिवस’ इतिहासको अन्तर्घुलन
तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध दिवसलाई माओवादीले भव्यताका साथ सम्झिने गरेका छन् । फागुन १ गते जनयुद्ध शुरू भएको दिनको सम्झनामा हरेक वर्ष जनयुद्ध दिवस मनाउने गरिएको छ । एमाले र माओवादी निकट हुन थालेपछि गत वर्ष जनयुद्ध दिवस माओवादी मुख्यालय पेरिसडाँडामा वाइसीएल नेपालको आयोजनामा गरिएको थियो ।

पार्टी एकीकरण भएपछि हाल माओवादी र एमाले एउटै नेकपामा आवद्ध छन् । एमाले समेत रहेको नेकपाले माओवादी पक्षको जनयुद्धलाई सम्मान गर्दै मूल पार्टीकै नेतृत्वमा कार्यक्रम गरिरहेको छ । एकीकृत पार्टीमा जनयुद्धलाई हेर्ने दृष्टिकोण कस्तो होला भन्ने सैद्धान्तिक मौनताबीच पार्टीले जनयुद्धलाई हेर्ने दृष्टिकोणबारे व्यावहारिक रुपमा संकेत गर्न खोजेको देखिएको छ ।

जनयुद्ध दिवसकै अवसरमा बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको सम्मान कार्यक्रम’ राखिएको छ । धुम्बाराही पूर्वएमाले र हाल नेकपाको मुख्यालय हो । धुम्बाराहीमा पहिलो पटक जनयुद्ध दिवसको कार्यक्रम हुँदैछ । यसअघि माओवादी मुख्यालय पेरिसडाँडामा जनयुद्ध दिवसको कार्यक्रम हुने गरेको थियो ।

नेकपाको मुख्यालयमा मात्रै होइन, देशभर नै पार्टीले शहीद सम्मान कार्यक्रम गर्न परिपत्र गरेको छ । कार्यक्रममा देशभर नेकपाको नेतृत्व सहभागी हुनेछ, जसमा तत्कालीन नेकपा एमालेका नेता समेत सहभागी हुनेछन् । यसरी पार्टी एकीकरणका प्राविधिक विषय सँगसँगै इतिहासको अन्तर्घुलन समेत भइरहेको छ । माओवादी नेतृत्वमा भएको जनयुद्धको बलमा प्राप्त उपलब्धीमा तत्कालीन एमाले नेतृत्वले समेत अपनत्वबोध गर्न पाउने अवस्था आएको छ ।

विद्यार्थी नेतृत्वको अर्थपूर्ण विज्ञप्ति
नेकपासँगै एकीकरण प्रक्रियामा रहेका भातृ विद्यार्थी संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारीले समेत जनयुद्ध दिवस मनाउन निर्देशन जारी गरेका छन् । अनेरास्ववियू अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङद्वारा हस्ताक्षरित निर्देशनमा उल्लेख छ, ‘आगामी फागुन १ गते महान् जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सबै ज्ञातअज्ञात शहीदहरूको सम्मान र सम्झनामा संयुक्त रुपमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरियो । १ गते साँझ केन्द्रको तर्फबाट माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम हुनेछ भने देशभरका सबै जिल्ला र क्याम्पसहरूमा आ–आफ्नो सापेक्षतामा संयुक्त कार्यक्रम गर्न निर्देशित गरिएको छ ।’

भविष्यमा पार्टीकै नेतृत्वका रुपमा हेरिने विद्यार्थी नेतृत्वको निर्माणमा ‘महान् जनयुद्ध’ शब्द उल्लेख भएपछि पूर्वएमाले पंक्तिले समेत जनयुद्धमा अपनत्वबोध गर्न थालेको संकेत दिइएको छ । पूर्वमाओवादीले जननेता मदन भण्डारी र पूर्वएमालेले जनयुद्धलाई सम्मान गर्दै एकतालाई भावनात्मक बनाउन सहयोग पुग्ने देखिन्छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा
गरीबी र बेरोजगारीको अन्त्य र विकासको माग गर्दै भएको तत्कालीन जनयुद्ध शुरू भएकै दिन पारेर कम्युनिस्ट सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दैछ । यसले समेत जनयुद्ध दिवसको साइतलाई सरकारीस्तरबाटै सम्मान मिलेको छ । सरकारी कार्यक्रम घोषणाका लागि सुझबुझपूर्ण तरिकाले छनौट गरिएको मिति जनयुद्ध दिवससँग मेल खानु संयोग मात्रै होइन ।

बुधबार राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमको आयोजना गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दैछ । देशभित्रै रोजगारीको ग्यारेण्टी गर्नेदेखि बेरोजगार युवालाई भत्ता दिने समेतको व्यवस्था भएको प्रधानमन्त्री रोजगार कार्यक्रमले युवालाई उत्साहित बनाएको छ ।

बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त्य गर्दै स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा हुँदैछ । कार्यक्रम कार्यान्वयनका लागि देशभरका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र तथा रोजगार संयोजकको नियुक्तिको प्रक्रिया अगाडि बढिरहेको छ ।

केन्द्रमार्फत् स्थानीय स्तरमा रोजगारदाता र रोजगारकर्ताबीच समन्वय गरेर सरकारी स्तरमै रोजगारीको व्यवस्थापन गरिने छ । जनयुद्ध दिवसकै दिन सरकारी स्तरको महत्त्वपूर्ण कार्यक्रम घोषणा हुनु पनि अर्थपूर्ण छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच प्राविधिक रुपमा एकता प्रक्रिया टुंग्याउन विलम्ब हुँदै गएपनि भावनात्मक रुपमा दुवै पार्टीका नेता कार्यकर्ता एकअर्कामा घुलमिल हुँदै गइरहेका छन् । दुवै पार्टीका कार्यकर्ताको घुलमिलले एकतालाई दीर्घायू र नतिजामुखी बनाउन सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement