काठमाण्डु-फ्रान्सको राजधानी पेरिसमा जारी सन् २०२४ को ओलम्पिकको आज समापन हुँदैछ ।
२६ जुलाईबाट पेरिसमा सुरु भएको खेलको महाकुम्भ ओलम्पिकको शीर्ष स्थानको वरीयता कायम गर्ने दौडमा अमेरिका र चीन रहेको छ ।
समापन समारोहलाई ‘रिकर्ड्स’ नाम दिइएको छ । समापन समारोह पारम्परिक रुपमा फ्रान्सको सबैभन्दा ठूलोे स्टेडियम स्टेड डीमा आयोजना गरिने छ । जसमा ८० हजार दर्शक सहभागी हुनेछन् ।
करिब २ घन्टासम्म चल्ने समापन समारोहमा ओलम्पिक परम्परा अनुसार पेरिस ओलम्पिक २०२४ को मशाललाई आज औपचारिक रुपले निभाइने छ । त्यसपछि ओलम्पिक झन्डा लस एन्जल्स २०२८ को आयोजन समितिलाई सुम्पिने छ ।
शनिवारसम्मको खेल सकिँदा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म ३९ स्वर्णपदक, २७ कास्यपदक र २४ रजतपदक सहित कुल ९० पदक जितेको छ ।
त्यस्तै अमेरिकाले ३८ स्वर्णपदक, ४२ कास्यपदकर ४२ रजतपदकसहित कुल १२२ पदक जितेको छ । पदक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
सन्तोषीले प्रतिस्पर्धा गर्दै
नेपाली म्याराथन धाविक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक–२०२४ मा आज महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् ।
नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।
सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् ।
सन् २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेर गोल्डेन गर्लको रुपमा उदाएकी सन्तोषीले ओलम्पिकमा भने म्याराथन दौडन लागेकी हुन् । उनले मध्यम दूरीबाट दौड सुरु गर्दै हाफ म्याराथन अनि म्याराथन दौडन थालेकी हुन् ।
पेरिस ओलम्पिकमा नेपालमा यसअघि ६ खेलाडीले आफ्नो प्रतिस्पर्धा सकाएर फर्किसकेका छन् । पौडीका अलेक्जान्डर शाहले राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेह अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन ।
शाहसहित पौडीकै डुवाना लामा, टेबल टेनिसका श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका थिए ।
प्रतिक्रिया