ट्रेड युनियन अधिकार खोसे आन्दोलन गर्ने पेशागत महासंघको चेतावनी, तलब वृद्धि गर्न माग

ट्रेड युनियन अधिकार खोसे आन्दोलन गर्ने पेशागत महासंघको चेतावनी, तलब वृद्धि गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पेशागत महासंघ नेपालले निजामती र शिक्षा सेवा ऐनमा रहेको ट्रेड युनियन अधिकार कटौती नगर्न सरकारलाई चेतावनी दिएको छ ।

वैशाख १८ र १९ गते अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षतामा बसेको महासंघको राष्ट्रिय समितिको सातौँ बैठकले सरकारले अध्यादेशमार्फत कर्मचारीको अधिकार हनन् गर्न खोजेको भन्दै गम्भीर आपत्ति प्रकट गरेको हो ।

महासंघले वालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । दुईतिहाइ बहुमत प्राप्त सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र जनचाहनाअनुसार राज्य सञ्चालन गर्नेमा महासंघले विश्वास व्यक्त गरेको छ ।

संसद् छलेर दूरगामी प्रभाव पार्ने ऐनहरू अध्यादेशमार्फत ल्याएकोमा महासंघले विरोध जनाएको छ । निजामती र शिक्षा ऐनबाट ट्रेड युनियन सम्बन्धी प्रावधान हटाउन खोजिए देशव्यापी आन्दोलन गर्ने र यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्न आईएलओसम्म पुर्‍याउने चेतावनी महासचिव राजन रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विगत ३ वर्षदेखि तलब वृद्धि नभएको भन्दै महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जीवनयापनयोग्य तलब वृद्धि गर्न माग गरेको छ । श्रमिकका लागि रासन कार्ड र सुपथ मूल्य पसलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारी तथा सार्वजनिक निकायमा कार्यरत अस्थायी, करार र आउटसोर्सिङ कर्मचारीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन र रिक्त स्थानमा स्थायी दरबन्दी सिर्जना गरी पदपूर्ति गर्न माग गरिएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार मर्यादाक्रमका आधारमा तलबमान निर्धारण र करार कर्मचारीलाई २०८२ साउनदेखि नै महँगी भत्ता उपलब्ध गराउन आग्रह गरिएको छ ।

भिजिट भिसाका नाममा भइरहेको ठगी रोक्न, स्वदेशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्न र विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई राहत दिन महासङ्घले माग गरेको छ ।

महासंघले गाजा क्षेत्रमा इजरायलले गरिरहेको आक्रमण र इरानको सार्वभौमिकतामाथि भएको प्रहारको निन्दा गरेको छ । मध्यपूर्वमा जारी युद्धले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आपूर्ति व्यवस्था सहज बनाउन सरकारसँग माग गरिएको छ ।

बैठकले महासचिव राजन रेग्मीको सांगठनिक र कोषाध्यक्ष ध्रुव पौडेलको आर्थिक प्रतिवेदन पारित गर्दै आगामी वर्षको बजेट र कार्यक्रम समेत तय गरेको छ । महासंघले आफ्नो नाम र लोगो प्रयोग गरी समानान्तर गतिविधि गर्ने समूहलाई त्यस्ता कार्य त्यागेर मूलधारमा आउन समेत आह्वान गरेको छ ।

पढ्नुहोस् विज्ञप्ति –