इन्धनको मूल्यमा नेपाल आयल निगमको मनपरी: मूल्य घट्दा नघटाउने बढ्दा घाटा भयो भन्दै ह्वात्तै बढाउने


काठमाण्डु- भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।

निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा घटेर आएको छ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजलको १ सय ७५ रुपैयाँ छ ।

भारतबाट धेरै पटक मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै भाउ घटाएको छैन । आईओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ ।

हिजो नै भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको हो । तर, नेपाल आयल निगम भने फेरि पनि पेट्रोलियम पदार्थको मूल्य नघटाउने देखिन्छ । नेपाल आयल निगमका प्रबक्ता विनितमणि उपाध्यायले शनिबार विदा भएको कारण मूल्यबारे कुनै निर्णय नगरेको काठमाण्डुपाटीलाई बताए ।

तर, यसभन्दा अघि पनि भारतबाट १५ दिनको अन्तरमा मूल्य घटेर आएपनि निगमले यथावत् राखेको उनको भनाइ छ । ‘भारतबाट १५ दिनको अन्तरमा मूल्य घटेर आउँछ त्यो कुनै नयाँ कुरा भएन । पहिला पनि घटेर आएको हो । हिजो पनि घटेर आएको छ । अब हिजो बिदा भएको कारण यसबारे अध्ययन गर्न  गरिएको छैन । अब हाम्रो टिमले यसबारे बुझेर निर्णय लिनेछ ।’, उनले भने ।

निरन्तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्रशोधित तेलको मूल्य घट्दै जाँदा सर्वसाधरणको दैनिकीलाई भने नेपाल आयल निगमले वेवास्ता गरेको छ । निगमले विभिन्न कारण देखाउँदै अन्तर्राष्ट्रिय बजारमा मुूल्य घटेपनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छैन् । मूल्य घट्दा नघटाउने र बढ्दा बढाइहाल्ने प्रवृत्ति निगममा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement