पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थी सङ्गठनले दिए धर्ना

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थी सङ्गठनले दिए धर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगमको थानकोट डिपोमा धर्ना दिएका छन् । मूल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन ।

नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेता आज बिहान साँढे नौ बजेदेखि थानकोट डिपोमा धर्ना बसेका हुन् । डिपो प्रमुख अभिषेक ठाकुरले विद्यार्थीको धर्नाका कारण ढुवानी रोकिएको बताए ।

‘आज कार्यालय समय शुरु भएसगैँ उहाँहरु डिपो गेटमा धर्नामा बस्नुभएको छ । अधिकांश पम्पले मङ्गलबार साँझ नै पेट्रोलिमय पदार्थकोे ढुवानी गरिसक्नुभएको छ । तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन । उहाँहरु धर्नाबाट निस्कनासाथ ढुवानी पुनः शुरु गछौँ’, उनले भने ।नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले विद्यार्थीको आन्दोलनले आज काठमाण्डु उपत्यकाका तीन जिल्लाका केही पम्प बन्द भएको जनाएको छ ।

आज बिहान उपत्यकाका केही स्थानमा सञ्चालित पेट्रोल पम्पमा विद्यार्थी सङ्गठनले केही पम्पको सटर लगाएर बन्द गराएतापनि अधिकांश पम्प खुला नै रहेको एशोसिएशनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार स्कुल तथा कलेज नजिक रहेका पम्प विद्यार्थीले बन्द गराए पनि अन्य स्थानमा सञ्चालित पम्प खुला रहेको छ ।